वुना बिश्वकर्मा, खोटाङ

भदौ–६, साउदी अरवमा काम–दामविहिन भई १० महिनादेखि अलपत्र परेका खोटाङ खाल्लेका युवाले आफ्नो उद्दार गरिदिन अपिल गर्नुभएको छ । तलव नपाएको भन्दै हड्तालमा उत्रिएपछि कम्पनीवाट निकालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कटुवालले आफ्नो उद्दार गर्न आग्रह गर्नुभएको हो । 
कामबाट निकालिदिने रसान कम्पनीले नेपाल फर्कने प्रक्रिया समेत अघि नबढाईदिएकोले आफु अलपत्र परेको कटुवालले फोनमार्फत सुनाउनुभयो । सन् २०१० मा एबी इम्प्रोमेन्ट सोलुसन म्यानपावर कम्पनीलाई ८० हजार रुपैंयाँ रकम बुझाई साउदी गएकोमा गत बर्ष तेश्रो छुट्टीमा दशैंमा घर फर्कनुभएको थियो । गत बर्ष पौष महिनामा पूनः साउदीको सोही कम्पनीमा फर्कनुभएको कटुवाललगायतका कामदारहरु तलव नपाएको भन्दै हड्तालमा उत्रिएका थिए । 
५ सय रियाल बेसिक र ओभरटाईम समेत गरी ११ सय रियालसम्म तलव पुगे पनि तलव नै दिन छाडेकोले हड्ताल गरिएको कटुवालको भनाई छ । 
हड्तालमा निस्कने अन्य कामदारहरुमध्ये कोही घर फर्केको र कोही काममा स्थापित भए पनि कटुवालका साथै श्रृलंका र भारतका एक एक कामदार गरी तीन जना भने अलपत्र परेको जनाईएको छ । नेपाली साथीहरु समेत कोही नभएको बताउनुहुने कटुवालका अनुसार कम्पनीले अकमा (कामदार परिचयपत्र) नविकरण नगरिदिएकोले नेपाल फर्कन समस्या भएको छ । अकमाको मान्य मिति १९ महिना अघि नै सकिए पनि कम्पनीले नविकरण नगरिदिएको पीडितको भनाई छ । 
ईमेल तथा फेसबुकको सेवा समेत प्रयोग गर्न नसकिने अवस्थामा आफु रहेकोले फोनमार्फत समस्याबारे जानकारी गराउनुपरेको उहाँले जनाउनुभयो । मोवाईल समेत नभएकोले साथीहरुको मोवाईलमा आफ्नो सिमकार्ड लगाएर फोन गरेको उहाँले बताउनुभयो । 
 कटुवाललाई अन्य देशका कामदार साथीहरुले खाना खुवाईरहेको बताईएको छ । सम्बन्धित कम्पनीले अकमा नविकरण अर्थात स्वदेश फर्कन तोक नलगाईदिएसम्म सोही अवस्थामा बस्न बाध्य हुनुपर्ने भन्दै उहाँले उद्दारको लागि आग्रह गर्नुभएको छ । कटुवालको घरमा श्रीमति तथा छोरा समेत बिरामी भएकोले समस्या झनै जटिल बनेको छ । 
कटुवालको श्रीमतिको पाठेघर अप्रेसन गर्दा थप समस्या भएको छ भने छोरालाई हर्नियाको समस्याले गर्दा अवस्था दयनीय बनेको छ । 
कटुवालले सम्बन्धित सवैलाई चाँडो उद्दार गरी नेपाल फर्काईदिन आग्रह गर्नुभएको छ । उहाँलाई नेपाल फर्काउनका लागि कम्पनीमा मुद्दा चलाईएको छ । उद्दारको लागि सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सूचना तथा परामर्श केन्द्रले समन्वय गरिरहेका छन्् । कम्पनीमा मुद्दा चलाईए पनि हालसम्म प्रक्रिया टुंगो लागेको छैन । 
कार्यरत कम्पनीले कामदार भएको तोक लगाईदिएपछि अर्थात कामदार परिचयपत्र नबिकरण गरिदिएपछि मात्र नेपाल फर्काउन सकिने प्रावधान रहेको छ । कटुवाललाई कार्यरत कम्पनीले नै अवैधानिक बनाईरहेका छन् । 
हाल जीतवहादुर साउदी जुगोलको दमाम आसपासमा रहनुभएको छ ।