खोटाङ भदौ–७,  दश वर्षे माओवादी जनयुद्दको समयमा कारागारवाट फरार रहेका खोटाङ खार्मीका एक कैदी तेह्र वर्षपछि पक्राउ परेका छन् । माओवादी सशस्त्र जनयुद्दकोे समयमा २०६२ साल असार ५ गते कारागारबाट भागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ तेह्र वर्षपछि बिहीबार घरैबाट पक्राउ परेका हुन् । 
पक्राउ परेका तामाङलाई बिहीबारै जिल्ला अदालतमा हाजिर गराएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
 २०६० साल असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको हत्या गरेको अभियोगमा तामाङ सहित तीन जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका थिए । उनीहरु विरुद्ध जिल्ला अदालत खोटाङले २०६३ साल चैत ६ गतेको फैसलाले तीनै जनालाई २०÷२० वर्ष कैद सजाय सुनाएको थियो । 
दाहालको हत्या लगत्तै पक्राउ परेका उनीहरुले दुई वर्ष नौं महिना दश दिन कैद भुक्तानी गरिसकेका थिए । उनीहरुले दाहाल लगायतका केही व्यक्ति आफ्नै घरमा आएर आक्रमण गरेपछि नियन्त्रणमा लिएर कुटपिट गर्दा दाहालको मृत्यु भएको थियो । 
हत्यामा संलग्नमध्ये कटकबहहादुर तामाङ भने यसअघि नै पक्राउ परेर कैद भुक्तान गरिरहेका छन् । डिएसपी केसीका अनुसार घटनामा संलग्न अझै एक जना फरार रहेकोले उनको खोजी भइरहेको छ ।