खोटाङ १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको एकता अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म जिल्लाको नेतृत्व बाहेक अन्य विषय भने करिब टुंगो लागेको छ ।

नेतृत्वको विषयमा भने अझै पनि सहमतिमा नेताहरु पुग्न नसकेको बताइएको छ । एकताका क्रममा पूर्व एमालेको भागमा ६ वटा पालिका र पूर्व माओवादी केन्द्रको भागमा ४ वटा पालिकाको नेतृत्व हुने गरी टुंग्याउने अन्तिम तयारी छ ।
जस अन्तर्गत दिक्तेल रुपाकोट नपा, ऐंसेलुखर्क, लामिडाँडा, जन्तेढुंगा, बाराहापोखरी र साकेला गाउँपालिकाको नेतृत्व पूर्व एमालेबाट हुने भएको छ ।
यसैगरी, हलेसी नपा, केपिलासगढी, दिप्रुङ र खोटेहाङ गाउँपालिकाको नेतृत्वमा पूर्व माओवादीको तर्फबाट हुने देखिएको छ ।
 नेकपाको खोटाङ जिल्ला कमिटी १ सय ३५ सदस्यीय बनाउने तयारी समेत  छ । पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुले पूर्व एमालेलाई ७८ जना र पूर्व माओवादीबाट ५७ जना सदस्यीय रहने गरी जिल्ला कमिटी बनाउने तयारी भएको हो ।

नेकपाले ४५ सदस्यीय सचिवाय गठनको तयारी समेत गरेको छ । जसमा पूर्व एमालेको भागमा २५ र पूर्व माओवादीलाई २० जना रहने गरी गठनको अन्तिम तयारीमा नेताहरु छन् ।