खोटाङ, असोज १२, गैर–सरकारी संस्था महासंघ खोटाङको अध्यक्षमा बिमलकाजी श्रेष्ठ चयन भएका छन् । सदरमुकाम दिक्तेलमा सोमबार साँझ सम्पन्न महासंघको पाँचौं अधिबेसनले श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।
उनी यसअधि महासंघको सचिवको भूमिका सम्हाल्दै आएका थिए । निर्वाचन कमिटिले सचिव र कोषाध्यक्षको स्थान खाली राखेर महासंघको १३ सदस्यीय समितिको नामावली सार्वजनिक गरेको छ । समितिको उपाध्यक्षमा पुर्णमायाँ तामाङ, सह–सचिवमा गणेश राई, सदस्यमा निलु थुलुङ, उमेश पौडेल, प्रमोद श्रेष्ठ, रमेश राई, सुवाशचन्द्र आचार्य, युवराज रिजाल, ईन्दिरा पोखरेल र सबिता ढकाल निर्बिरोध छानिएको निर्वाचन कमिटिका चन्द्रबहादुर खड्काले बताए ।
मूख्य पाँच पदमा भएको ‘बार्गेनिङ’मा कुरा नमिलेपछि कांग्रेस, एमाओबादी निकट र स्वतन्त्र गैससकर्मीले मनोनय फिर्ता लिएर अधिबेसनस्थल छाडेर हिँडेपछि निर्वाचन कमिटिले एमालेनिकट गैससकर्मीलाई समेटेर महासंघको नयाँ समितिको घोषणा गरेका हुन् । महासंघको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा कुरा नमिलेपछि कांग्रेस, एमाओबादी निकट र स्वतन्त्र गैससकर्मी हलबाट बहिस्कारकै शैलीमा बाहिरिएपछि सचिव र कोषाध्यक्ष रिक्त राखेर नयाँ समिति बनाइएको हो । महासंघका नवनिर्वाचित सह–सचिव बाहेक अन्य प्रतिनिधि एमाले निकटका हुन् ।
सुरुमा महासंघको अध्यक्ष पाएको एमाले समर्थक गैससकर्मीले पछिबाट उपाध्यक्षमा समेत दाबी गरेका कारण अधिबेसन हलबाट बाहिरिनुपर्ने अवस्था आएको खोटाङ सेवा समाज नेपाल दोर्पाचिउरीडाँडाका सदस्य तेजकुमार श्रेष्ठले बताए । महासंघका पुर्वअध्यक्ष दिपनारायण रिजालले भने यसको खण्डन गरेका छन् । छलफलमा अध्यक्ष र उपाध्यक्ष एमालेलाई दिने सहमती भएको रिजालले दाबी गरे । अधिबेसन हलमा सहमतीको प्रयास असफल भएपछि कांग्रेस, एमाले र एमाओबादीका नेतासहित छुट्टै बसेको अर्को बैठकले अध्यक्ष र सह–सचिव एमालेलाई, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष कांग्रेस र एमाओबादीलाई तथा क्रियासिल एबं स्वतन्त्र गैससका प्रतिनिधिलाई सदस्य दिने सहमती भएको श्रोतले जनाएको छ ।
यही प्रस्तावमा समर्थन जनाउँदै अध्यक्षका दाबेदार चक्रकुमार राई पहिल्यै बाहिरिएका थिए । अधिबेसनस्थलमा एमालेनिकट प्रतिनिधिले पार्टीको निर्देशन अनुशार अध्यक्ष दाबी गरेपछि गैससमहासंघको नयाँ समिति बनाउने छलफल कांग्रेस, एमाले र एमाओबादी नेतासम्म पुगेको सहभागीहरुको भनाई छ । ‘एमाले निकट साथीहरुले पार्टीको निर्देशनका कुरा गर्न थाल्नु भो,’ एक सहभागीले भने, ‘त्यसपछि अरुले पनि पार्टीसँगै छलफल गर्नुपर्छ भन्न थालेपछि कुरा बिग्रियो ।’ दलीय उपस्थितिमा भएको छलफलपछि हलमा फर्किएका एमालेनिकट प्रतिनिधिले उपाध्यक्ष समेत नछाड्ने अडान लिएका कारण आफुहरु बाहिरिएको एकीकृत बिकास मञ्चकी सचिव बिमला राईले बताइन् ।
हलमा उपाध्यक्ष एमाललेलाई छाड्नुपर्ने वा मतदान प्रकृयामा जानुपर्ने अवस्था आएपछि एमालेनिकट बाहेकका गैससकर्मी नोमिनेसन फिर्ता लिएर बाहिरिएका थिए । मतदानमा जाँदा हार्ने अवस्था देखेपछि उनीहरु हल छाडेर हिँडेको श्रोत बताउँछ । महासंघका पुर्वअध्यक्ष रिजालले भने पुर्वसहमती अनुशार महासंघको नयाँ समिति बनाइएको बताए । ‘हामीले सहमती अनुशार समिति बनाएका छौँ,’ रिजालले भने, ‘हामीले तलमाथि गरेको रहेछ भने तपाईहरुले हेर्न बुझ्न सक्नु हुन्छ ।’ जिल्लाका ६७ वटा संस्थाका दुई÷दुई प्रतिनिधि अधिबेसनमा सहभागी भएका थिए । गैसस महासंघका नवनिर्वाचित समितिले मंगलबार पत्रकार सम्मेलन गरेर असन्तुष्ट पक्षलाई सहभागीताकालागि आव्हान गरेको छ ।