खोटाङ, असोज–२७, सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताकालागि खोटाङबाट भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, सटफुट, सय मिटर दौड र ज्यालिन थ्रोका खेलाडी छनौट भएका छन् । 
सोमबार र मंगलबार सम्पन्न जिल्ला छनौट प्रतियोगीताबाट पुरुष टेबलटेनिसतर्फ बाबुराम राई, बिजय राई र सरणजन राई, महिलातर्फको टेबलटेनिसतर्फ लेलुना राई र आशा उदास छानिएका छन् । यस्तै, पुरुष ब्याडमिन्टनतर्फ सुजन आचार्य, भानु राई र सरोज राई तथा महिलातर्फ सुजा राई र कल्पना राई छनौटमा परेका जिल्ला छनौट मूल आयोजक कमिटिका संयोजक एबं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माईतीराज राईले बताउनुभयो ।
सय मिटर दौडमा पुरुषतर्फ बिनोद गजमेर र महिलातर्फ गनिता राई छनौटमा पर्न सफल भएका छन् । पुरुष ज्याभलिन थ्रोमा प्रगेश राई र महिलातर्फ यूना भुजेल छानिएका छन् । महिला सटफुटतर्फ अस्मिता राई र पुरुषतर्फ मनिचन्द्र राई छानिएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । आगामी कार्तिक–११ देखि १७ गतेसम्म सञ्चालन हुने क्षेत्रीय स्तरको प्रतियोगीतामा पठाउने योग्य खेलाडी छान्नकालागि खोटाङमा सोमबारबाट छनौट खेल सुरु गरिएको हो ।
फुटबल, चेस, तेक्वान्दो, सितोरियोतर्फका खेलाडी छनौट गर्न बाँकी नै रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
खोटाङको दिक्तेलमा सातौं राष्ट्रिय खेलकुदकालागि आयोजना गरिएको छनौट खेलमा प्रतिष्पर्धा गर्दै भलिबल खेलाडीहरु ।
तस्बिरः हाम्रो खोटाङ डटकम