खोटाङ, कात्तिक–१९, जबरजस्ती करणी प्रयास गरेको आरोपमा खोटाङका एक युवक विरुद्ध मुद्दा दर्ता भएको छ । स्थानीय ४२ वर्षीया एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा अर्खौले–८ का ३३ वर्षीय जनक राई विरुद्ध बिहीबार मुद्दा दर्ता भएको हो ।

पीडित पक्षले दिएको उजुरीको आधारमा जनक विरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिनुभयो । घटनापश्चात आरोपित जनक फरार रहेको पीडित महिलाले बताउनुभयो ।

मुद्दा दर्ता गरिएसँगै फरार जनकको खोजीका लागि मातहतका प्रहरी चौकीबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । आरोपित राईले गत कात्तिक–८ गते राति दसैंको टीका लगाएर फर्कदै गरेको अवस्थामा बाटो छेकेर बलात्कार प्रयास गरेको पीडित महिलाको भनाइ छ ।

पीडित महिलाको जिल्ला अस्पताल खोटाङमा बिहीबारै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।