खोटाङ, माघ । खोटाङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि किसान खुसी भएका छन्।

गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले उत्पादन बढेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ। जिल्लाभर ६ हजार सात सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादवले जानकारी दिएका छन्।

कृषि विकास कार्यालयका अनुसार जिल्लाको साढे सात सय हेक्टरमा सुन्तला खेती हुँदै आएको छ। किसान सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि हरेक वर्ष थप सय हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तलाका बिरुवा लगाइएको सहायक यादवको भनाइ रहेको छ।


यस्तै कागती पाँच सय हेक्टर र जुनार तथा निबुवा तीन सय हेक्टरमा लगाइएको छ। जिल्लाका याम्खा, लामीडाँड, टेम्मा, रतन्छा, मंगलटार, सल्ले, चिसापानी, डम्बर्खुशिवालयलगायतका क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएको किसानको भनाइ छ।

जिल्लामा उत्पादन भएका सुन्तला उदयपुरको बेल्टारमा सबैभन्दा बढी निर्यात हुने यादवको भनाइ छ । बेल्टार पुर्‍याइएको सुन्तला सप्तरी, सिराह हुँदै अन्य ठाउँमा निर्यात हुने यादवले बताएका छन्।

किसानले उत्पादन गरेको ६५ प्रतिशत सुन्तलाले मात्रै बजार पाउने कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा सुन्तला खेतीबाट २१ करोड आम्दानी हुने कार्यालयको भनाइ छ । जिल्लामा सुन्तलाको मूल्य प्रतिकेजी ३० देखि ५० रुपैयाँ पर्छ।

जिल्लाका २६ गाविसमा सुन्तला उत्पादन हुन्छ। सुन्तला खेतीबाट यतिका धेरै आम्दानी लिन सकिने भए पनि सरकारी निकायबाट लगानीमा चासो नदिएपछि उनीहरू आफैं विकल्पको खोजीमा लागेका हुन्।

सरकारी लगानीबाट प्याकेजिङ, ग्रेडिङ, प्रशोधन र ढुवानीमा सहयोग भए थप उत्पादन गर्न सकिने किसान बताउँछन्। तर, सरकारी निकायले यसतर्फ चासो दिएका छैनन् । सडक यातायातको पहुँच ग्रामीण भेगसम्म नपुग्दा ढुवानीमा समस्या हुनेगरेको याम्खाका किसान रमेश राईले बताए। सुन्तला बेच्न डोकामा बोकेर उदयपुरको बेल्टार, कटारी र गाईघाटसम्म पुर्‍याउनुपर्ने बाध्यता छ।