खोटाङ भदौ–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्ति भएको छ । नगरपालिकाभित्रका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि नगरपालिकालाई सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको छ । 
१५ वडा रहेको नगरपालिकालाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले शुक्रबार बाल दिवसको अवसर पारेर उक्त घोषणा गर्नुभएको हो । श्रोतव्यक्ति मार्फत गरिएको घरधुरी सर्वेक्षणका क्रममा भेटिएका ५ देखि १२ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गरिएको थियो । विद्यालय वाहिर रहेका विद्यार्थीलाई समेत विद्यालयमा भर्ना गराईएपछि नगरपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको स्थानीय तह घोषणा गरिएको शिक्षा बिकास तथा समन्वय ईकाई खोटाङका प्रमुख ठाकुर दाहालले बताउनुभयो । 
यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एसइईको परीक्षामा उत्कृष्ट अंक ल्याएर उतीर्ण गर्ने छात्र÷छात्रालाई सम्मान गरेको छ । नगरपालिकाभित्रका बिद्यालयमध्येबाट शैक्षिक सत्र २०७४÷०७५ मा उत्कृष्ट अंक ल्याएर एसईई उतीर्ण गर्ने पञ्च माबि दिक्तेलका छात्र सचिन पोखरेल र सरस्वती माबि दिक्तेलकी छात्रा सविना खत्रीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जनही ५ हजारका साथमा सम्मानपत्र प्रदान गर्नुभएको छ ।