खोटाङ असोज–१४,  खोटाङमा जन्मि विभिन्न स्थानमा वसोवास गरिरहेका युवाहरुको फेसबुक ग्रुपले संकलन गरेको रकमले विद्यालयलाई पुस्तकालय स्थापना गरिदिएका छन् । जिल्लामा जन्मिएर अध्ययन तथा रोजगारीको सिलसिलामा राजधानी काठमाडौं लगायत विभिन्न देशमा रहेका युवाले सञ्चालन गरेको ‘हेण्ड ईन हेण्ड’ फेसबुक ग्रुपले दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको हो ।
वर्षदिन लगाएर संकलन गरेको पाँच लाख रुपैंयाँ रकमबाट स्थापना गरिएको पुस्तकालयमा प्राथमिक तहको विषयगत तथा विभिन्न विधाका पुस्तक राखिएको छ । पुस्तकालय आईतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले रिबन काटेर उद्घाटन गर्नुभयो । 
नेवा पुचः खोटाङको आयोजनामा उद्घाटन गरिएको पुस्तकालयको चाँबी फेसबुक पेज सञ्चालक समितिका संयोजक किरण श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रकुमार बजिमयलाई हस्तान्तरण गर्नुभयो । 
फेसबुक ग्रुपले पाँच लाखको पुस्तक, दश हजारको फर्निचर र दश हजारको सूचना पाटी उपलब्ध गराएको छ । उक्त ग्रुपले सोही विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीका लागि ४८ हजारको झोला, ३६ हजारको कापी र दश हजारको पेन्सिल समेत उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । 
पस्तकालय स्थापनार्थ सहयोग गर्ने फेसबुक ग्रुपलाई उद्घाटन कार्यक्रममा विद्यालयले कदरपत्र सहित सम्मान गरेको छ । उक्त फेसबुक ग्रुपमा नेपाल तथा नेपाल बाहिर रहेका ४० हजार बढी नेपाली सदस्य रहेका छन् ।