असार–९ । किराती मौलिक तथा लोपोन्मुख बाजाहरुलाई नेपाली गीतसंगीतका क्षेत्रमा स्थापित गराउने उदेश्यले आयोजना गर्न लागिएको ऐतिहासिक  ‘मुन्दुमी’ सास्कृतिक साँझको तयारी पुरा भएको छ ।

शुक्रबार साँझ काठमाण्डौंको साँस्कृतिक संस्थान जमलमा हुने कार्यक्रममा किराती मौलिक बाजाहरुका प्रत्यक्ष बाद्यबादन तथा गायनका साथै अन्य साँस्कृतिक प्रस्तुती रहने आयोजक किरात राई साँस्कृतिक कलाकार संघ ललितपुरका अध्यक्ष पदम राईले जानकारी दिनुभयो ।
साकेला साङ्गीतिक वृतचित्र निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको मुन्दुमी साँस्कृतिक साँझमा करिब १० फिट उचाई र ४ फिट चौडा भएको मुर्चुङा तथा बिनायो प्रदर्शन गरिने अध्यक्ष राईको भनाई छ । यस्तै, १५ फिट उचाईको सोलैमा (वाबु÷चिण्डो) मा मुल ब्यानर राखिने कार्यक्रमको उद्घाटन भने तिनचुलामा आगो बालेर गरिने तयारी गरिएको छ ।
 गीत रेकर्ड नगराएका गायकगायिकाले मात्र  किराती साँस्कतिक प्रस्तुति दिने कार्यक्रमको टिकटदर २ सय, पाँच सय र एक हजार राखिएको आयोजकले जनाएको छ ।
बैरागी काईला प्रमुख अतिथि रहने कार्यक्रममा कलाकारहरुले किराती मौलिक बाजाहरु ढोल, झ्याम्टा, मुर्चुङगा, बिनायो, चरीबाजा, एलम्बर बाजा, थाल, पुङबाजा लगायतका बाद्यबादनमा किराती गीत प्रस्तुत गर्नेछन् ।
मानव सभ्यताको क्रममा निर्माण भएको पुख्र्यौली बस्तुहरुलाई आजको आधुनिक युगमा प्रचलनमा ल्याई आफ्नो पुस्ताको जीवनशैलीसँग नाता जोडी राख्ने उदेश्यले पनि यस्तो अभियान शुरु गरिएको केन्द्रीय कोषाध्यक्ष  तथा ललितपुर तथा खोटाङ ईन्चार्ज रोशन राईले जनाउनुभयो ।