खोटाङ असार–१८, खोटाङमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि हुँदा संक्रमितको संख्या ६ पुगेको छ । बहराइनबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३० वर्षीय पुरुषमा विहिवार कोरोना भाइरस पुष्टि हुँदा हाल जिल्लाका संक्रमित ६ जना पुगेको हो ।

असार १२ गते नगर भित्रिएका उनलाई सोही दिन माटिकोरेस्थित क्वारेन्टिनमा र असार १४ देखि सरस्वती माविमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिन्टेण्ट खेमराज आचार्यले वताउनुभयो ।

समावि क्वारेन्टिमा राखिएका ११ जनाको पिसिआर रिपोर्ट आउँदा उनी १ जनामा कोरोना संक्रमण देखिएको जिल्ला अस्पताल खोटाङका डाक्टर शैलेस श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ । अन्य १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आए पनि ८ जनालाई मात्रै बिहीबार घर पठाइएको छ । संक्रमितसँगै एकै कोठामा बसेका २ जनालाई भने क्वारेन्टिनमै राखिएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३, रावाबेंशी गाउँपालिकाका १ र ऐंसेलुखर्क गाउँपालिकाका १ जना कोरोना संक्रमित छन् । उनीहरुलाई उपचारमा पठाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाका ४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।