खोटाङ, २४ कात्तिक । ६ महिनादेखि अवरुद्ध खोटाङको थामखर्क विमानस्थलमा उडान सुचारु भएको छ । वर्षाका कारण गत जेठ पहिलो साताबाट अवरुद्ध बनेको विमानस्थलमा बुधबारबाट उडान सूचारु भएको हो । 
गत कार्तिक २० गते परिक्षण उडान गरिएको विमानस्थलमा नेपाल एयरलाइन्स प्राधिकरणले उडान भरेको विमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले जानकारी दिए । नेपाल एयरलायन्सको जहाजले काठमाण्डौं थामखर्क र थामखर्क काठमाण्डौ उडान भरेको उनको भनाई छ । विमानस्थलमा उडान सुचारु भएपनि यसपटक प्राधिकरणले काठमाण्डौं थामखर्क र थामखर्क काठमाण्डौको लागिमात्र उडान भर्ने गरि तालिका सार्वजनिक गरेको छ । विगत वर्षहरुमा थामखर्क काठमाण्डौ र थामखर्क बिराठनगर उडान भर्दै आएको एयरलाइन्सले यस पटक बिराठनगरका लागि भने उडान नभएको जनाएको छ । 
प्राधिकरणले जहाजको अभावका कारण थामखर्क बिराठनगर उडान भर्न केहि समय लाग्ने बताएको छ । विमानस्थलमा विगत वर्षहरुमा चार्डवार्डलाई लक्षित गर्दै प्राधिकरणले उडान सुचारु गराएपनि यस पटक धावनमार्गमा समस्या रहेका कारण ढिला गरि उडान सुचारु गराएको हो । प्राधिकरणले हप्ताको बुधबार र सनिबार काठमाण्डौं थामखर्क उडान भर्ने गरि तालिका सार्वजनिक गरेको छ । विमानस्थलमा उडान सूचारु भएसंगै जिल्लाको दक्षिणी क्षेत्रका लाखौं सर्वसाधरणलाई सहजता भएको छ । वर्षालागेसंगै अवरुद्ध हुन उक्त विमानस्थल र  यातायातको सुविधा नपुगेको त्यस क्षेत्रमा बिरामीलाई उपचारका लागि तत्काल बाहिर पठाउन नसक्दा बर्षेनि अकालमा धेरैले ज्यान गुमानु पर्ने बाध्यता हिउँद महिनाभरी हल हुनेछ । उडान सुचारु भएपछि जिल्लाका दक्षिणी क्षेत्रका २० गाविस सहित छिमेकी जिल्ला भोजपूरका लाखौ सर्वसाधरणलाई राहत मिलेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा तिन वटा बिमानस्थल रहेका छन् । क्षेत्र नम्बर १ मा लामीडाँडा र क्षेत्र नम्बर २ मा खानीडाँडा र थामखर्क बिमानस्थल रहेका छन् । सदरमुकाम दिक्तेलबाट सवैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल भने कालोपत्रे भएको छ । लामीडाँडा विमानस्थलमा कालोपत्रे नभएपनि बाह्रै महिना उडान हुने गरेको छ । थामखर्क विमानस्थल हिउँद महिनामा मात्र सञ्चालन हुँदै आएको छ ।  वर्षायाममा खोटाङ जोड्ने मुख्य द्धारको रुपमा रहेको जयरामघाट र उदयपुरको गाईघाट जोड्ने फोक्सिङटारको अस्थाई बेलीब्रज हटाईएसंगै  जिल्लाको तराईलगायत काठमाडौंसंगको सम्बन्ध बिच्छेद रहने गरेको छ । थामखर्क विमानस्थल सदरमुकाम दिक्तेलबाट २२ कोष टाढा रहेको छ ।
यद्यपि,  नेपाल नागरिक उड्यान प्राधिकरणकोे ९ करोड २५ लाख २९ हजार सहयोगमा विमानस्थल कालोपत्रे हुने भनिएपनि हालसम्म कुनैपनि काम सुरु भएको छैन् । २०५६ सालबाट दक्षिणी क्षेत्रका सर्वसाधरणलाई लक्षीत गरेर उडान सुरु गरिएको विमानस्थल हालसम्म कालोपत्रे नहुँदा हिउँद महिनामा मात्र संचालन हुदै आएको छ । गत साल डिटेल सर्भे गरिएको विमानस्थलको कालोपत्रेका लागि यस वर्ष साँढे पाँच करोड रुपैयाँ बजेट छुट्टिएको थियो । बिमानस्थलमा उडान सुचारु भएपछि त्यस क्षेत्रका सर्वसाधरण हर्सित बनेका छन् ।