खोटाङ । जिल्लाको साकेला गाउँपालिका रतन्छा वडा नम्बर दुईमा ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि जिल्लाभरी त्रास फैलिएको छ ।

आरडिटीमा पोजेटिभ देखिएपनि उनीहरुलाई कोरोना लागे नलागेको पुष्टि हुन बाँकी छ । गाउँपालिकाले सोमबार नै एम्बुलेन्समार्फत पिसिआर विधिबाट परीक्षण गर्नका लागि स्वाबको नमूना पठाईसकेको छ । गाउँपालिका अध्यक्ष अर्जुन खड्का झङ्कारले दुई ठाउँको स्वाब लिनुपर्ने भएकाले केही ढिला भएको र साँझ एम्बुलेन्समार्फत स्वाब परीक्षणका लागि पठाईसकेको जानकारी दिएका छन् ।

आरडिटी विधिमार्फत पोजेटिभ देखिदैंमा कोरोना लागेको नहुने चिकित्सकहरुले बताउँदै आएका छन् । त्यसो त आरडिटीमा पोजेटिभ देखिएकामा पिसिआरमा नेगेटिभ नतिजा पनि आउने गरेको प्रशस्त उदाहरणहरु छन् । यद्यपी, जिल्लामा भने साकेलामा पिसिआरमार्फत परीक्षण गर्दा नतिजा के आउने भन्ने कौतुहलता र चिन्ता बढेको पाइएको छ । अहिले सामाजिक सञ्जाल, गाउँ टोल सबैतिर यसैको चर्चा रहेको छ ।

साकेला गाउँपालिका–२ रतन्छामा सोमबार दोस्रो चरणको आरडिटि परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको थियो । दुबईबाट ११ फागुनमा काठमाडौँ ओर्लिएर १२ वैशाखमा रिजर्भ गाडीमार्फत गाउँ पुगेका ५८ वर्षका पुरुष र काठमाडौँमा अस्थायी बसोबास गर्ने आएका २३ वर्षीय युवकको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको हो । २३ वर्षिय युवक पनि रिजर्भ गाडीबाटै १३ वैशाखमा गाउँ पुगेको जनाइएको छ ।

आरडिटि रिपोर्ट पोजेटिभ देखिएका रतन्छाका ५८ वर्षीय पुरुष चढेको बा ४ ख २१२९ नम्बरको गाडीमा वैशाख–१२ गते ३७ जना र वैशाख–१३ गते २३ वर्षीय युवक चढेको बा ४ ख ५० २८ नम्बरको गाढीमार्फत ३८ जना सर्वसाधारण जिल्ला भित्रिएको प्रहरीले जनाएको छ ।