–धनचन्द्र राई, खार्मी, खोटाङ (dhanchandrarai4@gmail.com)

केहि समय अगाडी एउटा कथा सुनेको थिएँ “एउटा गरिब मान्छे आफ्नो गरिबीपनाको कारण बाध्यताबस् भाग्यवादी भएर आफ्नो जीवन भगवानलाई समर्पण गरेछ र दिनचर्या मन्दिरमा बिताउन थालेछन् , मर्नु बाँच्नु भगवान भरोसा । उसलाई कोही र केहिको मतलब भएन । पुजारी आउँछन् , दर्शनार्थी आउँछन् , रात–दिन, घाम–पानी, भोक–प्यास केहिको पर्बाह छैन ।

जब एकदिन भगवान प्रकट भएर भन्नुभएछ, हे बालक तैँले यत्रो दुःखका साथ तेरो जीवन मलाई समर्पण गरिस् अब तैंले पनि आम मानिस जस्तै घरबार गरेर खानुपर्छ तेरो माग के छ भन्’ भनेछन्, त्यो मान्छेले अचम्म मान्दै भनेछन “भगवान् तपाईले मेरो मर्म बुझ्नु भो धन्नेछ , मलाई केहि चाहिँदैन तपाईंको पासमा मर्न पाउँ” । फेरि भगवानले भनेछ ‘मर्नु त एक दिन अबश्य छ तर बाचुन्जेल के माग्छस् भन्’ भनेपछि त्यो गरिबले भनेछ “त्यसो भए मेरो भोक टार्न दश रुपैैंययाँ दिनुस्” भगवानले फेरि भन्नुभएछ, ‘अरु केहि ?’ “ज्यान नांगै छ कपडा किन्न सय रुपैयाँ दिनुस्” अरु केहि ?’ “बस्ने घर छैन बनाउँन एक लाख दिनुस्” ‘अरु केहि ?’ “खेतिपाति गरिखान्छु खेत किन्न दश लाख दिनुुुस्” अरु केहि ? “सवारी गर्न एउटा गाडि चाहिन्छ एक करोड दिनुस्” अरु केहि ? “यति भए सर्वस्व पुग्छ भगवान” भनेर आङ बेरेको गम्छा फुकालेर थापेछ गभवानले भनेछ “बालक हाम्रो बोल्ने बानि छ दिने बानि छैन ।” कथा सकियो ।

उपरोक्त प्रसंग कोरोना भाईरसको कारणले चैत्र १० गते देखि देशमा निरन्तर भईरहेको बन्दाबन्दिमा बिचल्लि भोग्नुपरेको श्रमजीवि वर्ग र त्यहि श्रमजीवि वर्गको नेतृत्व गर्ने नेकपाको सरकारवीचको कथा हो । चैत्र ४ गते नेपालमा पनि कोरोना भाईरसको संक्रमित पहिलो ब्यक्ति फेला परेपछि सरकार अत्तालिएर बिना तयारी र अत्यन्तै छोटो समयको सूचनामा देश बन्दाबन्दि गर्दा निम्न वर्गको श्रमजीवि नागरिक सबैभन्दा ठूलो समस्यमा परे । सरकारले चैत्र ८ र ९ गते इच्छुकलाई आफ्नो घर जान जारी गरेको सूचना इन्टरनेटको पहुँच हुने र केहिले मात्र थाहा पाए त्यही पनि लकडाउन हप्ता दिनको मात्र भनिदिएको कारणले पनि हजारौं श्रमिकहरु घर जान पाएनन् । जान नपाउनुमा आफ्नै बाध्यता पनि थियो ।

जब लकडाउन लम्बियो श्रमिकको रोजिरोटि टुट्यो । त्यही पनि सरकारले आश्वासन दिईरह्यो कि चैत्र महिनाको घर भाडा छुट हुन्छ । भोकले मरिदैंन उचित राहत बितरण गरिनेछ । राहत नपाए फोन गर्नु घरमै ल्याईन्छ, लाईन बस्नु पर्दैन । तर जब पेटमा साँच्चै भोक लागेपछि राहत मागियो, त्यति बेला थाहा भयो सरकारको बोल्ने बानि छ दिने बानि छैन । मजदुरलाई घरबाट घरधनीले निकाले, सडकमा पुलिसले लखेटे । राहत माग्न जाँदा नागरिकता मागे । अन्ततः सरकारबिहिन भए । तर नभएको भने होईन । स्थानीय तह, प्रदेश र केन्द्रमा कोरोना नियन्त्रणको लागि अरबौं रुपैयाँको आ–आफ्नै कोष खडा गरेको छ ।

लकडाउनले तेश्रो निरन्तरता पाएपछि मजदुरहरु जब रातारात काठमाण्डौ छोडेर भाग्न थाले । भाले बास्नु अगावै साँगा भन्ज्याङ नकाटे कारबाहिमा परिने डर बोकेर हिडेकाहरु झोलामा थोरै चिउरा र चाउचाउ बोकेर सडकमा आँशु खसाल्दै सरकारलाई सराप्दै सयौं किलो मिटर हिँडिरहेका छन् । मानौं राज्यबिहिन राष्ट्रियताहरु आफ्नो अभिभावकको खोजिमा भौतारिरहेका छन् । यो दृश्य सम्भवतः यो पुस्ताले देखेको थिएन र सायद देख्न पर्दैन पनि होला । केहि मिडियाहरुले यो दृश्यलाई जब स्क्रिनमा उतार्यो र केहि राजनीतिक दल, बुद्धिजीवि र सरोकारवाला संस्थाहरुले उद्धारको लागि माग ग¥यो, त्यसपछि माथिबाट उत्तर आया,े “सरकार भावनामा बग्दैन ।” अझै भन्छ, काठमाण्डौं छोडेर कोहि नजानु , प्यकेजमा राहत दिईन्छ , भोकै बस्नु पर्दैन । तर बोल्ने बानि छ दिने बानि छैन । दुई तिहाईको सरकार छ । प्रतिपक्ष मात्र नभएर सम्पुर्ण राजनीतिक दल, बुद्धिजीवि, पेशाकर्मीहरु साथमा छन् , आम जनताले साथ दिएका छन् के कुराले अल्झियो त प्याकेजको राहत ? दश बर्षे जनयुद्धमा १७ हजार मान्छे मरे पनि भोकले एक जना पनि मरेको थिएन ।

यो बेला सिंहदरवारको काखमा बसेर कोठाभित्रै भोकले मर्ने दिन नजिकिदैछ । बिदेशमा रहेका नेपालीको हालत उस्तै छ यद्यपी बैदेशिक रोजगारीमा गएकाहरुको कानुनी बैद्यता हून्छ उनिहरुको जोखिम न्युनिकरण र ब्यबस्थापनमा केहि सहजता छ । तर आफ्नै देशमा श्रम बेचिरहेकाहरुको न त अभिलेख छ, न त प्रक्रियागत भर्ना भएका छन् , न त कानुनी उपचार । कारणबस कुनै दुखःद् घटना भए पनि कुनै क्षतिपुर्ति छैन । यो अबस्थाबाट सरकारले धेरै सिक्नुपर्छ । उद्योग तथा कलकारखानामा काम गर्ने मज्दुर कति छ ? होटल तथा रेष्टुरेन्ट मजदुर कति छन् ? ग्रोसरी मजदुर कति छन् ? भौतिक निर्माण मजदुर कति छन् ? लगायतको एकिन तथ्याङ्क सरकारसँग भएको भए मजदुरको यो हालत हुन्नथ्यो । अहिले त मालिकले राहत पाए तर मजदुरले पाएनन् ।

विश्वको अबस्था दिनानुदिन् झन् असुरक्षित बन्दै गईरहेकोछ । प्रायः सबै देशले आफ्नो नागरिकलाई सुरक्षित तवरबाट देश भित्र्याईरहेका छन् । यो संक्रमण बिश्वमा नियन्त्रणमा नआएसम्म कुनै पनि देश सुरक्षित हुन्नन् । एकातिर हाम्रो देशमा लकडाउनको समयसिमा निश्चित छैन, संक्रमितको संख्या दैनिक बढ्नुले झनै चुनौति थपिँदैछ । अर्कोतिर घर परिवार छोडेर कामको खोजिमा गएका मजदुरहरुको गाँस–बास खोसिए पछि सडकमा रुँदै घर फर्किरहेका हृ्रदयबिदारक दृश्यले परिवार मात्र होईन सारा नेपालीलाई रुवायो । यो दृश्य देखेर पनि सरकारले सहयोग त के चित्त सम्म दुखाएनन् उल्टै कडा निर्देशन जारी गरिरहन्छ ।

सरकार ! निर्देशनले भोक टर्दैन, जनता अटेरी होइनन् तिम्रो अन्धो शासनको अगाडी मर्नु भन्दा वहुलाउनु बेश भनेर बिकल्प मात्र खोजेका हुन् । समयमै होस् खोज्नू , बरु कम बोल्नु बोलेको काम गर्नु, बोल्ने मात्र होइन दिने पनि गर्नु ।।

   – ९८४२९३२७००  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here