खोटाङमा कडा अनुगमन : बिहान-बेलुकी ४ घण्टा खुला

0
405

खोटाङ चैत्र–११, जिल्ला प्रशासन कार्यालय खोटाङले लकडाउनको अवधिमा माईकिङ गर्दै निरन्तर अनुगमन गरिरहेको छ । लकडाउनको अवधिमा आवश्यक खाद्यवस्तु तथा इन्धन किनमेलका लागि दैनिक बिहान ७ बजेदेखि दुई घण्टा र बेलुका ४ बजेदेखि दुई घण्टा खुला गर्ने आदेश जारी गरेको प्रशासनले दिक्तेलवजार लगायतका स्थनमा निरन्तर अनुगमन गरिरहेको हो ।

अधिकार प्रत्यायोजन बमोजिम संक्रमण रोग ऐन २०२० को दफा २ ले प्रदान गरेको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम अधिकार प्रयोग गरेर सर्वसाधारणको हितमा आदेश जारी गरिएको प्रशासनले जनाएको छ । मंगलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्म दैनिक बिहान र बेलुका उपभोग्य सामग्री जुटाउनका लागि चार घण्टा खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यस अवधिमा औषधि, उपचार र अत्यावश्यक कामका लागि भने जुनसुकै समय हिँडडुल गर्न पाइने जनाइएको छ । केही सर्वसाधारण नागरिक भने प्रशासनको आव्हानलाई अटेर गर्दै विभिन्न वहानामा वाहिर निस्कने गरेको पाईएको प्रजिअ पौडेलले जनाउनुभयो ।

औषधि व्यवसायीले औषधि तथा औषधिजन्य सामग्रीको नियमित आपूर्ती गर्ने, अभाव देखाएर मूल्य वृद्धि गर्ने, कालाबजारी गर्ने वा लुकाउने व्यक्तिलाई कारबाही गर्ने तथा सामग्री जफत गरेर रोगको रोकथाम तथा उपचारमा उपयोग गरिने प्रशासनले जनाएको छ । यस्तै, आदेश विपरित सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिएर विपद जोखिम न्यूनिकरणका काममा प्रयोग गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

प्रतिक्रिया