खोटाङ चैत, जिल्ला अस्पताल खोटाङमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आईसेलेसन वार्डसहितको पुर्वतयारी गरिएको छ । कोरोनाको संक्रमण जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा आवश्यक तयारी गरिएको हो ।

यसअघि नै तीन शैयाको आईसेलेसन वार्ड तयार गरिएको अस्पतालमा कोरोना संक्रमितको परीक्षणका क्रममा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने व्यक्तीगत सुरक्षा सामग्रीका खरिदका लागि टोली खटाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा कम्तीमा १० थान ब्यक्तिगत सुरक्षा सामाग्री तत्कालै व्यवस्था गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रहेको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो ।

कोरोनाका शंकास्पद बिरामी उपचारमा आएको खण्डमा तथा संक्रमित फेला परेको अवस्थामा अन्यलाई सर्न नदिनका लागि पुर्वतयारी स्वरुप आइसोलेसन रुमको व्यवस्था गरिसकिएको जिल्ला अस्पतालका डा. शैलेस श्रेष्ठले बताउनुभयो ।

यस्तै, कोरोनाको संक्रमण रोक्नका लागि जिल्लाको जयराम, रेग्मीटार, रसुवाघाट, बंशिलाघाट, ऐसेलुखर्क, लामीडाँडा लगायतका नाकामा हेल्पडेस्क राख्ने तयारी भइरहेको जानकारी दिइएको छ । कोरोनाबाट बच्नका लागि जिल्लाका १० वटै स्थानीय तहले पनि सचेतनामुलक सन्देश प्रवाह गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो ।

यसैबीच, चिनबाट फर्किएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका एक युवालाई कोरोनाको संक्रमण भएको अफवाह फैलिएकाले त्रसित नहुन आग्रह गरिएको छ । कोरनावाट वच्नका लागि सचेतना अपनाउन जिल्लाबासीलाई आग्रह गरिएको छ ।