खोटाङ फागुन–३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा कोरोना भाइरसको बिरामी भेटिएको हल्लाले जिल्लावासी त्रसित बनेका छन् । पाथेकामा केहि दिन अघिदेखि नै उक्त हल्ला फैलिएको स्थानीयवासीले बताएका छन् ।

हल्ला फैलिएपछि जिल्ला प्रशासन कार्यालय दिक्तेलमा आईतवार सर्वदलीय भेला समेत डाकिएको थियो । तर बिरामी भनिएका २१ बर्षिय पुुरूष  (नाम गाेप्य) व्यक्तीले भने आफू स्वस्थ रहेको प्रतिक्रिया दिनुभएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उनि गत फागुन–१४ गते चिनबाट नेपाल फर्कनुभएको थियो । धरानस्थित ह्वाइट हाउस क्याम्पसमा होटल व्यवस्थापन अध्ययन गर्नुभएका उनी छ महिनाअघि प्राक्टिकल (व्यवहारिक शिक्षा)का लागि चिन जानुभएको थियो ।

चिनको सान्यासिटीमा बसेर अध्ययन गर्दै आउनुभएका उनी एक वर्षका लागि त्यहाँ जानुभएको थियो । चिनबाट नेपाल फर्कनुअघि सोही ठाउँमा र नेपाल फर्किएलगत्तै विमानस्थलमा जाँच गर्दा कुनै समस्या नदेखिएपछि आफू घर आएको उहाँले बताउनुभयो ।

हल्लावाट परिवारमा ठूलो तनाव सिर्जना गरेको उहाँको भनाई छ । जिल्लाकै विभिन्न स्वास्थ्य चौकीमा काम गर्दै आएका उहाँका तीन दिदीबहिनीले पनि भाईलाई अहिलेसम्म कुनै समस्या नरहेको भन्दै गाउँलेले नचाँहिदो हल्ला फैलाएको दाबी गरेका छन् ।

उनीहरुले आफ्नो परिवारमाथि नचाँहिदो हल्ला फैलाउने व्यक्ति पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । पाथेकामा चिनबाट फर्किएका उहाँलाई आफन्तले घरको तलामाथि लुकाएर राखेको हल्ला चलेकाे थियाे । उहाँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल बोलाइएको प्रजिअ शर्मा पौडेलले बताउनुभयो ।