खोटाङ फागुन–१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले थप सात वटा नियमावली तथा कार्यविधि पारित गरेको छ । नगरपालिकाले कक्षा–८ परीक्षा नियमावली, एफ. एम. रेडियो सञ्चालन कार्यविधि २०७६, मेलमिलापकर्ता कार्यविधि, विपद् व्यवस्थापन कार्यविधि २०७६ पारित गरेको छ ।

यस्तै, प्रसुति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि पहिलो संशोधन २०७६, मर्मत सम्भार कोष सञ्चालन कार्यविधि २०७६ र नगर शिक्षा कार्यविधि २०७६ नगरपालिकाले पारित गरेको हो । नगरकार्यपालिकाको बुधबार बसेको पूर्ण बैठकले पारित गरेको नीति तथा कार्यक्रम (बिहीबार) सार्वजनिक गर्दै नगरप्रमुख दिपनारायण रिजालले नगरपालिका अब समृद्धिको दिशातर्फ लम्किएको बताउनुभयो ।

नियमावली तथा कार्यविधिहरुलाई टेकेर भौतिक, शैक्षिक, स्वास्थ्य, सामाजिक विकास लगायतका गतिविधिसँगै नगरपालिकाले समृद्धिको लय समातेको उहाँको भनाई छ । नगरपालिकाले पत्रकारहरुसँग मासिक रुपमा नियमित आयोजना गर्ने ‘सुशासनका लागि मिट द प्रेस’ कार्यक्रममा रिजालले जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेलबजार ढलानका लागि यस वर्ष पाँच करोड रुपैंयाँको टेन्डर (आशयपत्र) आव्हान भइसकेको र क्रमागत रुपमा विकास हुँदै जाने बताउनुभयो । नगरप्रमुख रिजालका अनुसार माटिकोरे खेलमैदानको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) सकिएको र त्यसका लागि करीब चार करोड ९७ लाखको हाराहारिमा बजेट आवश्यक परेकाले प्रदेश सरकारसँग अनुदान माग गरिएको छ ।

दिक्तेल–दुम्ली सडक (दुई करोड), हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक (२७ करोड) निर्माणको चरणमा रहेको जनाइएको छ । नगरपालिकालाई पूर्ण रुपमा अर्गानिक बनाउने उद्देश्य अनुरुप वडा नम्बर–२ सोल्मामा शुरु गरिएको कम्पोष्ट मल उत्पादन अन्तिम चरणमा पुगेको नगरप्रमुख रिजालले बताउनुभयो । नेपाल सरकारले दिने विशेष अनुदान वापतको तीन करोड ३२ लाख लगानीमा स्थापना गरिएको कम्पोष्ट मल उद्योग केही दिनपछि आधिकारिक रुपमै उद्घाटन गर्ने योजना बनाइएको छ ।
पछिल्लो समय भौतिक पूर्वाधार निर्माणमा जोड दिएको नगरपालिकाले यस वर्ष ११ वटा वडामा एउटै प्रकारको कार्यालय निर्माण शुरु गरिने छ । यसका लागि प्रत्येक वडामा ६०/६० लाख रुपैंयाँ खर्च हुने जनाइएको छ ।
पन्ध्र वटा वडा रहेको नगरपालिकाको वडा नं १, २, ४, ६, ७, ८, ९, १०, ११, १२, १३ र १५ मा यस वर्ष नयाँ कार्यालय भवन निर्माण हुने जनाइएको छ । वडा कार्यालयसँगै हरेक वडामा एउटा–एउटा विद्यालय निर्माण गरिने छ । उक्त विद्यालय भवनका लागि ३५ लाखका दरले खर्च हुने नगरप्रमुख रिजालले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं २, ४ र ८ मा यसै वर्ष स्वास्थ्य भवन निर्माण गरिने नगरप्रमुख रिजालले जनाउनुभयो । यसका लागि ३८ लाखका दरले तीन वडा वडामा एक करोड १४ लाख रुपैंयाँ बजेट खर्च हुने जनाइएको छ ।
त्यस्तै दिक्तेल बृहत खानेपानी आयोजना लगायतका योजनाहरु पनि धमाधम निर्माणाधीन अवस्था रहेको छ ।।