खोटाङ पुष–२१, खोटाङको खार्मीस्थित कालिका माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्माणमा राजनीतिक दल निकट ब्यक्तिहरुवीच सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ मा पर्ने माविको व्यवस्थापन समितिका लागि सोमवार सम्पन्न निर्वाचनमा नेकपा र समाजवादी पार्टीका संयुक्त प्यानल विजयी भएको छ ।

नेपाली कांग्रेसका तर्फवाट अध्यक्षको उम्मेदवार ज्ञानवहादुर श्रेष्ठलाई झण्डै तेव्वर मतान्तरले पछि पार्दै संयुक्त प्यानलवाट अध्यक्षका उम्मेदवार नेकपा निकट सुरेशकुमार तामाङको प्यानलै विजयी वनेको हो । विद्यालयमै सम्पन्न निर्वाचनमा तामाङले १ सय ३१ र श्रेष्ठले ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत तथा प्रधानाध्यापक देवान राईले जनाउनुभयो ।

संयुक्त प्यानलमा तीनै जना सदस्य समाजवादीका तर्फवाट उम्मेदवार वनाईएको थियो । संयुक्त प्यानलका लागि खुल्ला सदस्यका उम्मेदवार यामवहादुर राईले १ सय २७, महिला सदस्यमा वालकुमारी राईले १ सय २१ र दलित सदस्यमा वत्ति दर्नालले १ सय २५ मत प्राप्त गरी विजयी वन्नसभएको निर्वाचन अधिकृतवाट जानकारी आएको छ ।

कांग्रेसका प्यानलवाट खुल्ला सदस्यका उम्मेदवार कृष्णवहादुर खत्रीले ५१, महिलामा सञ्चना श्रेष्ठले ५१ र दलित सदस्यमा धनकुमारी दर्जीले ४८ मत ल्याउनुभएको छ । विजयीहरुलाई सोमवारै प्रमाणपत्र प्रदान गरिएको छ । १ सय ८९ मतदातामध्ये १ सय ८१ मत खसेका थिए । ३ मत भने वदर भएको जनाईएको छ ।

यसअघि पनि सुरेश तामाङ नै विद्यालय व्यवस्थापनको अध्यक्ष रहनुभएको थियो ।

यसैवीच, विद्यालय जस्तो पवित्र संस्थामा राजनीति हुनु दुखद् भएको स्थानीयको गुनासो छ । विद्यालय व्यवस्थापन समितिमा सहमति जुटाउनुतर्फ नलागी दलीय हिसावले लुछाचुँडी गर्नु लज्जास्पद भएको स्थानीय ईखवहादुर राईले उल्लेख गर्नुभएको छ ।

भोट माग्ने अभियान, आचारसंहिता लागु जस्ता पक्षलाई हेर्दा विव्यास निर्वाचनले स्थानीय तहको झल्को दिएको स्थानीय वताउँछन् ।