खोटाङ  मंसिर–१, जिल्ला कारागार खोटाङमा समस्यै–समस्या पाईएको छ । खोटाङका जनप्रतिनिधिहरु प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कारागार निरीक्षण गर्दा समस्यै–समस्या पाईएको वताएका छन् । 
प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र सुरक्षा निकायका प्रमुख सहित कारागार पुगेका जनप्रतिनिधिका अनुसार नयाँ कारागार निर्देशिका नबन्दा अवधि पुगेका कैदी कैदमुक्त हुन नपाएको, जेलमा आपसी सम्मान र मायाँको वाताबरण कम भएको लगायतको समस्याहरु कारागारमा पाईएको छ । शुक्रवार कारागार निरीक्षण गर्दा भान्छा कोठामा फर्निचरको व्यवस्था नभएको, सानो ट्यांकी भएकाले भरिएर पानी खेर जाँदा पानीको अभाव हुने गरेको, फोहोरमैला व्यवस्थापनको व्यवस्था नभएको पाईएको जनाईएको छ । 
कारागार भवनको पर्खाल चर्किएका कारण कैंदीबन्दीहरु जोखिमपूर्ण भवनमा बस्न बाध्य भएको देखिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताउनुभयो । कारागारको भौतिक अवस्था, कैंदीबन्दीको समस्या, सेवासुबिधा लगायतका बिषयमा जानकारी लिनका लागि जनप्रतिनिधिहरुले जिल्ला कारागार शाखाको निरीक्षण गरेका हुन् । टोलीले कारागारको भवन, कैंदीबन्दी बस्ने र सुत्ने कोठा, भान्छा कोठा, सुधारगृह पुस्तकालय, कैंदीबन्दीले अपनाउँदै आएको ढाकाको टोपी बुन्ने, मुडा बनाउने र बाँसका सामान निर्माण सम्बन्धी पेशा लगायतको अवलोकन गरेको छ ।
जनप्रतिनिधिले कारागारमा बसिरहेका कैंदीबन्दीका सामुहिक र व्यक्तीगत समस्याका बिषयमा जानकारी लिएका छन् ।