खोटाङ कात्तिक–२१, खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई दिन सार्वजानिक विदा दिईएको छ । हरिबोधनी एकादशीको अवसर पारेर हप्ता दिनसम्म लाग्ने बराहपोखरी मेलालाई लक्षित गरेर बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाले कातिक–२१ र २२ गते सार्वजनिक बिदा दिएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरीमा लाग्ने मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि १६ कोष दक्षिणमा पर्ने बराहपोखरी गाउँपालिकाको वडा नम्बर–१ मा पर्ने बराहपोखरीमा हरिबोधनी एकादशीको अवसरमा ठूलो मेला लाग्ने गरेको छ ।

मेलालाई व्यवस्थित गर्न दुई गाउँपालिका तथा बराहपोखरी विकास समितिको तर्फबाट स्वयमसेवक परिचालन गरिएको जनाइएको छ । बराहपोखरी मेलामा हुन सक्ने आपाराधिक घटनालाई न्यूनिकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले जानकारी दिनुभयो ।

मेलामा विशेषगरी दिबङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गर्दछ । चारैतिर घना जङ्गलले घेरिएको ३ सय ३० मिटर लम्बाई र २ सय १० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ ।

समुन्द्री सतहदेखि करीब एक हजार ३ सय मिटर उचाईमा रहेको बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्तिका दिन मेला लाग्ने गरेको छ । बराहपोखरीमा लाग्ने मेला भर्न जिल्लाका दश वटै स्थानीय तह, छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, ईलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चिन, भुटान लगायतका दर्शनार्थी एवम् भक्तजन आउने गरेका छन् ।

बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शंखेश्वर मन्दिरको पूजाआराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।
जीवनमा शान्ति मिलोस् भनेर जोडी परेवा उडाउनुका साथै सुद्धताका लागि पोखरीमा नुहाउने चलन समेत रहिआएको छ । बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ ।
विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले बराहपाखरीमा गएर पूजा गरे सन्तान पाइने जनविश्वास छ । प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहपोखरीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बृद्धि हुँदै गएको स्थानीयवासीले बताएका छन् ।

बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ ।
यो पोखरीलाई नेपाल सरकारले देशको १०० वटा पर्यटन गन्तव्यमध्ये एउटा गन्तव्य क्षेत्र घोषणा गरेको छ ।