दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम रफ्तारमा

0
401

खोटाङ भदौ–२५, खोटाङस्थित दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार लगानीमा सुरु गरिएको कालोपत्रेको काम ४५ प्रतिशत बढी सम्पन्न भएको हो ।

करीब ११ किलोमिटर लम्बाई रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी याक्थुहाङ–साप–सिरुवा जेभीका प्रबन्ध निर्देशक कल्याण खत्रीले बताउनुभयो ।

कालोपत्रे गर्नका लागि आवश्यक सबै सामग्री तराईबाट ल्याइ सकिएको खत्रीको भनाई छ । तोकिएकै समयमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नेगरि कालोपत्रेको कामलाई तीव्रता दिइएको उहाँले जनाउनुभयो । १८ महिनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरि गत असोज १ गते प्राधिकरण र निर्माण कम्पनीबीच कामको सम्झौता भएको थियो ।

दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सो सडक छ दशमलव २५ मीटर चौडाई रहने र तीन दशमलव ७५ मीटर भाग कालोपत्रे गरिने सम्झौतामा उल्लेख छ । दशंैअघि कम्तिमा पनि छ किलोमीटर सडकमा कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको प्रबन्ध निर्देशक खत्रीले बताउनुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेलबजारबाट खानीडाँडा–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने उक्त सडकलाई निक्कै महत्वमा साथ हेरिएको छ । यसअघिसम्म हिउँदको समयमा छ महिनामा मात्र सञ्चालन हुने सो सडक ढिलै भएपनि कालोपत्रेको काम थालिएछि जिल्लावासी हर्षित भएका छन् ।

दिक्तेलबजारबाट सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाँडा विमानस्थल सोही सडक खण्डको खाल्लेमा पर्छ ।

प्रतिक्रिया