२ सय युनिटसम्मलाई ३ रुपैयाँले विद्युत उपलब्ध गराउन सांसद भुसालको माग (भिडियोसहित)

0
5495

काठमाडौं । सांसद पम्फा भुसालले थोरै बत्ती बाल्ने जनतालाई एक युनिटको ३ रुपैयाँका दरले विद्युत उपलब्ध गराउन माग गरेकी छिन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले २ सयसम्म बत्ती बाल्नेलाई न्यूनतम ३ रुपैयाँ बनाउन माग गरेकी हुन् । उनले विज्ञ विशेषज्ञले नै ३ रुपैयाँ भन्दा बढी मूल्य नहुने भन्ने गरेको र कतिपय देशमा २ सय युनिटसम्म बाल्नेलाई सित्तैमा दिने गरेको समेत जनाइन् । ‘हामीले भर्खरै छिमेकी राष्ट्रको सुनेका छौं, २ सय युनिटसम्म निःशुल्क वितरण गरेर बत्ती बालिएको छ, म अहिले यहाँ जनतालाई निःशुल्क त भन्दिन तर २ सय युनिटसम्म प्रयोग गर्नेलाई न्यूनतम ३ रुपैयाँसम्म दिइयोस् ।’ सांसद भुसालले भनिन् ।

भिडियो हेर्नुहोस्

सर्वसाधरणले अहिले प्रतियुनिट १० देखि १६ रुपैयाँसम्म तिर्दै आएको गुनासो सुनिने गरेकोमा सांसद भुसालले सरकारसँग यस्तो माग गरेकी हुन् । भुसालले नेपाली जनताले असाध्यै महंगो बिजुलीको बिल तिर्न बाध्य भएको समेत बताइन् । उनले सिचाईका लागि बिजुली प्रयोग गर्ने जनता र खानेपानी लिफ्ट गरेर तान्ने जनतालाई बिजुली निःशुल्क गराउन समेत माग गरेकी छिन् ।

भुसालले सबै जनताले बत्ती बाल्न नपाएको भन्दै सरकारलाई आयोजना छिटो सुरु गर्न आग्रह समेत गरिन् । ‘जलविद्युत जस्तो आधारभूत कुरा सरकारले आफैं उत्पादन र वितरण गर्नु पर्दछ, कम लागतमा सस्तो ढंगले बन्ने योजनाहरुको सुरु गरियोस् र जनतालाई सस्तो भन्दा सस्तोमा बिजुली दिइयोस् म नेपाल सरकारको गम्भीर ढंगले ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भनिन् ।

पछिल्लो समय शहरी क्षेत्रमा बत्ती जाने गरेकोबारे पनि उनले आवाज उठाएकी छिन् । उनले भनिन् ‘बत्ती भएको शहरी एरियामा पनि पछिल्लो समय बत्ती गइरहने गुनासो सुनिएको छ, यथाशिघ्र समाधान गर्न आग्रह गर्दछु ।’ उनले कतिपय आयोजना विदेशीलाई सुम्पिएको र उत्पादन नभएको तथा लाइसेन्स होल्ड भएकोबारे पनि आवाज उठाएकी छिन् ।

प्रतिक्रिया