खोटाङ भदौ–५, खोटाङस्थित दिक्तेलवजारमा सञ्चालित दैनिक उपभोग्य सामानका अधिकांश पसल ब्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा पर्ने अस्पताल चोकवाट आचार्य गाउँ जाने सडक लाईनका अधिकांश पसल सम्वन्धित निकायमा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको पाईएको हो ।

नगरपालिकाले गठन गरेको वजार अनुगमन टोलीले विहिवार १५ वटा पसल अनुगमन गर्दा ७ वटा पसल दर्ता नगरी सञ्चालन गरेको पाईएको अनुगमन टोलीका संयोजक सिताराम खतिवडाले वताउनुभयो । अस्पताल चोकवाट अनुगमन सुरु गरेको टोलीले नगरपालिका तथा घरेलुमा व्यवसाय दर्ता नगरेको तथा कर कार्यालयवाट स्थायी लेखा नम्बर नलिई सञ्चालन गरेको पसललाई एक साताभित्र आधिकारिक बन्न आग्रह गरेको छ । अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई साता दिनभित्र आधिकारिक वन्न या पसल बन्द गर्न आग्रह गरिएको संयोजक खतिवडाको भनाई छ ।

नगर उपमेयरको संयोजकत्वमा रहने उपभोक्ता हित संरक्षण समिति अन्र्तगत गठिन अनुगमन टोलीले अस्पतालचौकको जेएन स्टोरमा २१ प्याक म्याद गुज्रिएका गुड डे विस्कुट फेला पारेको छ । उक्त विस्कुटलाई जफत गरेको अनुगमन टोलीले जनाएको छ ।
नगरपालिकाले वजार अनुगमन निर्देशिका २०७५ तयार गरी उपभोक्ताको हितमा नियमित वजार अनुगमन सुरु गरेको छ । नगरपालिकाका वजार अनुगमन शाखाका प्रमुखको संयोजकत्वमा गठित अनुगमन टोलीमा सम्वन्धित विषयगत क्षेत्र, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षणमा क्रियाशिल संस्था, उद्योग वाणिज्य संघ र पत्रकार महासंघको प्रतिनिधि समावेश गरिएको छ ।

नजिकिँदै गरेको चाडपर्वलाई मध्येनजर गर्दै दैनिक उपभोग्य सामाग्री विक्रिवितरणलाई जोड दिई अनुगमन सुरु गरिएको अनुगमन टोलीका संयोजकले सुनाउनुभयो । टोलीले विक्रेता अर्थात सेवाप्रदायक नियामक निकायवाट कानुनवमोजिम प्रदान गरिने कागजात, सो कागजातको नविकरण, व्यावसायको साईनवोर्ड, मूल्यसूचि, परिमाण, मूल्य, गुणस्तर तथा नाप–तौल, प्याकेजिङ आदि हेर्ने वताईएको छ । टोलीले उत्पादन तथा उपभोग्य मिति समेत हेरी म्याद नाघेको वस्तु विक्रिका लागि राखेको पाईएमा जफत गरी प्रकृतिअनुरुप मुचुल्का तयार गरी नष्ट गर्ने निर्देशिकामा उल्लेख छ ।

दैनिक उपभोग्य सामाग्रीका पसलवाट अनुगमन सुरु गरेको टोलीले नगरपालिकाभित्र सञ्चालित उपभोक्तासँग सरोकार राख्ने अन्य पसल तथा व्यवसायको समेत अनुगमन गर्ने जनाएका छन् ।

यस्तै, हरेक शनिवार र बुधबार दिक्तेलवजारको हाटडाँडामा लाग्ने वजारको नियमित अनुगमन गर्ने टोलको योजना छ । उक्त वजारलाई व्यवस्थित र उपभोक्तामैत्री वनाउन पछिल्लो समय स्वयम मेयर दिपनारायण रिजाल, उपमेयर विणादेवी राई लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुले नियमित वजार निरीक्षण गरिरहेका छन् ।

नगरपालिकाको निरन्तरको निगरानीका कारण वजार व्यवस्थित हुँदै गएको मेयर रिजालको भनाई छ । वजारमा विचौलिया लगायतको विकृति पूर्ण रुपमा वन्द भएको सुनिश्चित नभएसम्म नियमित अनुगमनमा उत्रने र नियमविपरित कार्य गर्ने व्यवसायीलाई कानुनी कार्वाही गर्ने येयरले वताउनुभयो ।