खोटाङ भदौ–३, निरन्तरको ताकेता र खवरदारीपछि खोटाङस्थित साप्सुखोला पक्की पुल निर्माण सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको सिमानामा पर्ने साप्सुखोला पुल म्याद गुज्रिएको २१ महिनापछि निर्माण सम्पन्न भएको हो ।

१८ महिनाभित्र पूरा गर्नेगरि २०७३ वैशाखमा ठेक्का लागेको साप्सुखोला पुल निर्माणको काम हालै मात्र सम्पन्न भएको हो । निर्माण कार्यको जिम्मा लिएको गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको प्रतिनिधिले चरम ढिलासुस्ती गरेपछि निर्माण कम्पनी परिवर्तन गरिएको थियो । सम्पन्न गर्नुपर्ने म्याद नाघेको १५ महिना बित्दासमेत उक्त कम्पनीले पुल निर्माणलाई गति नदिएपछि २०७५ चैतमा दोभान निर्माण सेवालाई कामको जिम्मा दिइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का (झङ्कार)ले वताउनुभयो ।

नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दुई करोड ३० लाख ३६ हजार लागतमा सो पुल निर्माणको काम सम्पन्न गरिएको निर्माण कम्पनीले जनाएको छ ।
निर्माणाधिन पुल अलपत्र भएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराई तथा जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनीलाई कार्वाही गर्न सिफारिस गरेका थिए ।

वर्षामा बाढीले सवारी आवागमन ठप्प हुँदा जिल्लाका दक्षिणी क्षेत्रका स्थानीयवासी नाकाबन्दीमा पर्दै आएका थिए । साप्सुखोला पुल सञ्चालनमा आएपछि दिक्तेलवजारदेखि साकेला गाउँपालिकासम्म नियमित यातायात शुरु गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङ्माङले बताउनुभयो ।

भिडियो रिपोर्ट