खोटाङ साउन–८, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगरसभामा असन्तुष्टी जनाउने तीन जनप्रतिनिधिसहित ६ जना पक्राउ परेका छन् । नगरसभाप्रति असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका ६ जनालाई चक्काजाम गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

चौथो नगरसभाप्रति असन्तुष्टी जनाउँदै बुधबार बिहान चक्का जाममा उत्रेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई र महादेवस्थानकै वडा सदस्य निरजमानसिं बस्नेत पक्राउ परेका हु्न् । यस्तै, चककाजाम गराउने क्रममा नै नेकपा नगर कमिटिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर कमिटिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडा कमिटि सचिव धनकुमार भुजेललाई प्रहरीे पक्राउ गरेको हो ।

नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटीढंगले चौथो नगरसभा गरिएको विरोधमा नेकपा नगर कमिटिले एक घण्टाका लागि बिहान ६ बजेदेखि चक्का जाम गरेको थियो । सडकमा अवरोध पु¥याएकाले ६ जनालाई पक्राउ गरिएको डिएसपी वामदेब गौतमले बताउनुभयो । नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४÷०७५ को लेखा परिक्षण प्रतिबेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगती समिक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपार्टी अन्त्य गर्न लगायतका माग राखे पनि बेवास्ता गरिएको विरोधमा नेकपाले मंगलबार नगरको कार्यालयमा धर्ना दिएको थियो ।

सम्वन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिइ कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजस्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको नेकपाका जिल्ला कमिटि सदस्य राजुबिक्रम चाम्लिङले बताउनुभयो ।