खोटाङ साउन–४, जनताको विरोध गर्न पाउने अधिकारको रक्षा गर्न भन्दै समाजवादी पार्टी नेपाल खोटाङले जिल्लामा पक्राउ परेका ४ जना युवाहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ । हाल चलिरहेको लोकसेवा आयोगको असमावेशी विज्ञापन खारेजीको माग गर्दै चलिरहेको शान्ति पूर्ण आन्दोलनमा एक्यवद्धता जनाई रहेको समाजवादी पार्टीले राज्यले दमनको नीति लिएकोमा विरोध जनाएको हो ।

आदीवासी जनजाति, दलित, महिला, अपाङग, मधेसी, मुस्लिमलगायतको अधिकारलाई कटौती गर्दै संविधानको भावना र मर्म विपरित लोकसेवा आयोगले खुलाएको विज्ञापनको विरोधमा एक नम्बर प्रदेश बन्दको आव्हान गरिएको थियो । बन्द गराउने क्रममा दिक्तेल बजारबाट आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई तत्काल रिहाई गर्न पार्टीले प्रेषित विज्ञप्तीमा लेखिएको छ ।

पक्राउ परेका युवाहरुलाई लाठीचार्ज समेत गरेको भन्दै अमानवीय हिसाबमा राज्यले दमन गर्न प्रयास गरेको समाजवादी पार्टी नेपालका टंक बहादुर थापाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख छ ।
उता प्रहरी हिरासतमा रहेका रविन खम्बु लगायतका युवाहरुले भने हिरासतमै अनसन शुरु गरेका छन् ।