खोटाङ साउन–२, संविधानको भावना र मर्म विपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन सच्याउन माग गर्दै बिहिबार आव्हान गरिएको नेपाल बन्द स्थगन भएको छ । संविधानको भावना र मर्म विपरीत आदिबासी, जनजाति, मधेशी, मुस्लिम लगायतको अधिकार कटौती हुने गरी आयोगले विज्ञापन खुलाएको बिरोधमा बिहिबारका लागि आव्हान गरिएको बन्दा स्थगन भएको हो ।

बाढी, पहिरो र डुवानका कारण धनजनको क्षती भइरहेको अवस्थामा राहत तथा उद्धारका कामलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था भएकाले नेपाल आदिबासी जनजाती महासंघ खोटाङ एबं आदिबासी जनजाती संगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले पत्रकार सम्मेलन गरेर आन्दोलन फिर्ता भएको जानकारी गराएका छन् ।

बिहिबार आव्हान गरिएको बन्द फिर्ता भए पनि लोकसेवाको असमावेसी विज्ञापन विरुद्धको कार्यक्रम भने यथावत रहेको नेपाल आदिबासी जनजाती महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताउनुभयो । महासंघ एबं संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले वर्षाका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनधन गुमाएका पिडितलाई चाँडोभन्दा चाँडो राहतको व्यवस्था मिलाउन नेपाल सरकार तथा सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।