सुरेश श्रेष्ठ/खोटाङ
असार–३१, खोटाङमा ६ दिनदेखि विद्युत अवरुद्द बनेपछि मोवाईल फोन चार्ज तथा प्रयोग गर्न समस्या भएको छ । विद्युत नहुँदा हाल दिक्तेलबजारवासी मोवाईल फोन प्रयोगकर्ताहरु पैसा तिर्दै मोवाईल चार्ज गर्न बाध्य छन् ।

वजारमा सञ्चालित मोवाईल तथा ईलेक्ट्रोनिक्स पसलहरुमा एउटा मोवाईल चार्ज गर्न ५० रुपैंयाँ तिर्नु बाध्य भएको स्थानीय सुनाउँछन् । बजारस्थित सगरमाथा डिजिटल फोटो स्टुडियो, मनोज ईलेक्ट्रोनिक्स लगायतले जेनेरेटर चलाएर मोवाईल चार्ज गर्ने सेवा दिईरहेका छन् ।

दिनमा झण्डै एक सय जना प्रयोगकर्ता मोवाईल चार्ज गर्न आउने गरेको सगरमाथा डिजिटल फोटो स्टुडियोका सञ्चालक सनिल जिम्बाले बताउनुभयो ।
लगातारको वर्षापछि उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रशारणलाईनको पोल बगाउँदा जिल्लामा विद्युत अवरुद्द बनेको हो ।

त्रियुगाखोलामा आएको बाढीको बहाव अहिलेसम्म नघटेका कारण अर्को पोल राख्नमा ढिलाइ भएको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताउनुभयो । त्रियुगा खोला बाहेक पनि विभिन्न स्थानका पोल तथा तारमा क्षति पुगेको कारण उक्त लाईन सुचारु गराउन अझै केही दिन लाग्ने जनाईएको छ । विद्युत सूचारु नहुँदा सुचना–सञ्चार, बैंक–वित्तीय कारोवार लगायतका सेवावाट वञ्चित हुनु परेको स्थानीय बताउँछन् ।

विद्युत अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुङ्गाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन् ।

मोलुङखोलावाट विद्युत सप्लाई गर्ने प्रयास असफल

केन्द्रीय प्रशारण लाईन सुचारु नभएपछि ओखलढुंगाको मोलुङ खोला लघुजलविद्युत आयोजनाबाट विद्युत सप्लाई गर्ने प्रयास असफल भएको छ । नेपाल विद्युत प्राधिकरण खोटाङले सोमबार उक्त जलविद्युत आयोजनावाट विद्युत सप्लाई गर्ने प्रयास गरे पनि प्राविधिक समस्याले असफल बनेको हो ।

त्यस लघुुजलविद्युत र जिल्लामा सञ्चालित पावरहाउसको क्षमतामा असमानता आएपछि विद्युत सप्लाई हुन नसकेको प्राधिकरणले जनाएको छ । बैकल्पिक प्रयास समेत असफल भएपछि जिल्लावासी अझै केही दिन विद्युतीय सेवाबाट वञ्चित हुनुपर्ने भएको छ ।