सडक नाकावन्दीमा खोटाङ, ५ दिनदेखि विद्युत अवरुद्द

0
835

 तस्बिर- Rabin Gloomy Magar को फेसबूकवाट

खोटाङ असार–३०, निरन्तपर वर्षाका कारण खोटाङ आवत–जावत हुने यातायात सेवा ठप्प बनेको छ । ५ दिन अघिदेखि परेको वर्षासँगै ठाउँ–ठाउँमा बाढी–पहिरोले सडक अवरुद्द वनाएपछि जिल्ला आवत–जावत गर्ने यातायात सेवा सञ्चालन हुन नसकेको हो ।

यातायात सञ्चालन नहुँदा काठमाण्डौं लगायत तराईका जिल्ला आवत–जावत गर्न ठप्प बनेको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–हलेसी–जयरामघाट लगायत सबै सडक अवरुद्ध भएपछि यात्रा गरिरहेका तथा यात्राका तयारीमा रहेकाहरु रोकिनु बाध्य बनेका छन् । जिल्लाभित्रैका सडकहरु समेत यात्रै गर्न नमिल्ने गरी भत्किनका साथै बगेका छन् । सडक सञ्चालनमा ल्याउने गरी मर्मत गर्न अझै केही दिन लाग्ने हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख इवन राईले बताउनुभयो ।

कटारी–घुर्मी र हर्कपुर–जयरामघाट सडकका विभिन्न ठाउँमा पहिरो झर्दा तराईका जिल्लाबाट दिक्तेल आउने तथा दिक्तेलबाट बाहिरीने यात्रुहरु बीचमै अलपत्र परेका छन् ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मानेभञ्ज्याङको भँडारेखोलामा बाढीको लेदो आएर थुप्रिँदा काठमाडौँबाट खोटाङ, सोलुुखुम्बु र ओखलढुङ्गा आवतजावत गर्ने सयौँ सवारी साधन र यात्रु बीचैमा अलपत्र छन् । लगातार वर्षा भइरहेपछि जिल्लाको ग्रामिण सडकमा चल्ने सबै यातायात सेवा बन्द भएको छ ।

तत्कालै गर्नुपर्ने कामका लागि जिल्ला आउने तथा बाहिर जानेहरु बढी मारमा परेका छन् । यातायात सञ्चालन नहुँदा जिल्लामा आवश्यक दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, डिजेल, पेट्रोल आदिमा अभाव देखिन थालेको छ ।

यातायातसँगै विद्युत समेत अवरुद्द हुँदा जिल्ला अस्तब्यस्त बनेको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रशारणलाईन विद्युतको पोल बगाएपछि जिल्ला अस्तब्यस्त बनेको हो । ५ दिनदेखि विद्युत अवरोध हुँदा सुचना–सञ्चार, बैंक–वित्तीय कारोवार लगायतका सेवावाट वञ्चित हुनु परेको स्थानीय सुनाउँछन् ।

प्रतिक्रिया