खोटाङमा बलात्कारको घटना बढी, रोकिएन वालविवाह

0
750

खोटाङ असार–१६,  खोटाङमा गएको ६ महिनाभित्र भएको मानवअधिकार उल्लंघनमा सबैभन्दा बढी बलात्कार सम्बन्धी घटना भएकोे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक) खोटाङले सोमबार प्रस्तुत गरेको मानवअधिकार उल्लंघनका प्रतिबेदन अनुसार जिल्लामा १४ वटा बलात्कारसम्बन्धी घटना भएका छन् ।

जिल्ला समन्वय समितिको सभाहलमा गरेको नेपाल मानवअधिकार बर्षपुस्तक–२०२० को पूर्व अर्धबार्षिक समीक्षामा गत जनवरीदेखि हालसम्मका प्रतिनिधि घटना प्रस्तुत गरिएको थियो । यस अवधीमा ६ वटा बलात्कार तथा ८ वटा बलात्कार प्रयासको घटना भएको ईन्सेकले उल्लेख गरेको छ । ईन्सेकको अभिलेख अनुसार बलात्कारको घटनामा बालिका बढी पीडित बनेका छन् । जिल्लामा ४ बालिका तथा २ महिलामाथि बलात्कारको घटना सम्बन्धी मुद्दा दर्ता भएको छ । यस्तै, ५ महिला र ३ बालिकामाथि बलात्कार प्रयास भएको उजुरी दर्ता भएका छन् ।

बलात्कार प्रयास सम्बन्धी मुद्दाका ४ आरोपितले भने सफाई पाईसकेका छन् । यस्तै, हाडनातमामा पर्ने एक बालिकालाई करणी गरी कसुर गर्ने एक जनालाई जन्मकैदको फैसला सुनाईएको जिल्ला अदालतले जनाएको छ । प्रतिबेदन अनुरुप २ महिलाको हत्या, २ जनामाथि कुटपिट गरी घाईंते बनाईएको र एक जनालाई हत्याको प्रयास गरिएको घटना रहेका छन् । यस अवधीमा एउटा बहुविवाहको मुद्दा दर्ता भएको अभिलेख छ ।

जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी बिष्णुहरी उपाध्याय, डिएसपी वामदेब गौतम लगायतको सहभागिता रहेको कार्यक्रममा जिल्लामा मानव अधिकार उल्लंघनका घटना न्युनिकरणमा सरोकारवाला पक्षबाट खेलिएको भूमिकाका बारेमा समीक्षा गरिएको थियो । राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि, मानवअधिकारकर्मी, दलित तथा महिला अधिकारकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिीमा सम्पन्न कार्यक्रममा जिल्लामा अझै पनि वालविवाह न्युनिकरण हुन नसकेको निष्कर्ष निकालिएको छ । वालविवाह सम्बन्धी कानुनी कार्यान्वायनमा सामाजिक, साँस्कृतिक तथा ब्यवहारिक पक्ष चुनौति बन्ने गरेको सहभागीले धारणा राखेका थिए । यीनै चुनौतिका कारण पनि कतिपय वालविवाहका उजुरीहरु आउन नसक्ने डिएसपी गौतमको बुझाई छ ।

समीक्षा कार्यक्रममा जातीय भेदभाव तथा छुवाछुत लगायतका मानव अधिकार उल्लंघनका घटनामा कमी आउन नसकेको बताईएको छ । समीक्षा कार्यक्रममा वालविवाह न्युनिकरण, छुवाछुतको अन्त्य जस्ता अभियानमा सरोकारवालाहरु नै प्रतिबद्द नबनेकोले पनि समस्या आएको ठहर गरिएको थियो ।

प्रतिक्रिया