हिलोसँग रमाउँदै मनाईयो धान दिवस

0
321

खोटाङ असार–१५, खोटाङमा रोपाईं गर्नका साथै हिलो खेल्दै १६ औं धान दिवसको मनाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कोलेबारीमा स्थानीय सगरमाथा कृृषक समुहले निर्माण गरेको सिँचाई पोखरीमा जमाइएको पानीले खेत हिल्याएर धान दिवस मनाइएको हो ।

‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयतमा न्यूनीकरण’ भन्ने नारासहित स्थानीय कोलेबारी कृषि सहकारीसँगको सहकार्यमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषि तथा पशु विकास शाखाले धान दिवसको आयोजना गरेको थियो । रोपाई गर्ने पानी नहुँदा सिँचाई पोखरीको पानी तानेर धान दिवस मनाउने व्यवस्थापन मिलाइएको कोलेबारी कृषि सहकारीका अध्यक्ष गोपालचन्द्र आचार्यले बताउनुभयो ।

धान दिवसका अवसरमा हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्दै सामुहिक रुपमा रोपार्इं गरिएको छ । दिवसका अवसरमा जनप्रतिनिधि, जिल्लाका कार्यालय प्रमुख, कर्मचारीदेखि स्थानीय बृद्दबृद्दा तथा वालबालिका समेत हिलोसँग रमाएका छन् । कार्यक्रममा नगरपालिकाले कोलेबारी कृषि सहकारीलाई हाते ट्याक्टर, कम्बाईन्ड मिल, मकै छोडाउने मेसिन, मकै रोप्ने र जोख्ने मेसिन प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सहकारीका अध्यक्ष आचार्यलाई कृषि उपकरण हस्तान्तरण गर्नुभएको हो ।

खोटाङमा यो बर्ष १० प्रतिशत मात्र धान रोपाईं भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । लामो समयसम्म रोपाईं गर्नेगरी बर्षा नहुँदा कृषकहरु आकास हेर्दै बर्षाको आशामा बसेका छन् ।

प्रतिक्रिया