‘मकैसँगै ओईलाए कृषकका मन’

0
536

खोटाङ असार–९,  ‘म भन्दा जेठोहरुले चैं था पाङ्नुहुन्छ होला । म चैं था पाङ्दिना । यसरी त कैलै सुकेको थे’ना ।’ सर्लङ्गै सुकेको मकैबारीतिर हेरिरहनुभएको ७० बर्षिया रामकुमारी राईले चर्को घाम लागेको आकासतिर हेर्दै भन्नुभयो–‘ना माथि आकासको पानी झार्नु, ना कुलोको पानीले पुग्छ ।’

खोटाङस्थित दिपु्रङ चुईचुम्मा–१ याम्खा रातमाटाका रामकुमारी जस्तै जिल्लाका दक्षिणी क्षेत्रका किसानहरुको मन पनि मकैका बोट जस्तै खङ्ग्रङगै बनेका छन् । गोड्नेबेला भएकोदेखि घोगा लाग्ने समयसम्मकै मकै खडेरीले सखाप पारेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो । सुख्खा क्षेत्रमा लामो समयसम्म खडेरी जाँदा धान रोप्ने कार्यदेखि अन्य खेतिबाली लगाउनसम्म समस्या भएको बताईएको छ ।

लामो समयदेखि लागेको खडेरीले दक्षिणी क्षेत्र मात्र नभई रावावेंसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका लगायतका सुख्खा क्षेत्रमा मकैका बोट सुकेका छन् । मकै खेतिका लागि आत्मनिर्भर भनिएको जिल्लामा लगाईएको खेतबारीको मकै सुकेपछि किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाको झण्डै ४० हजार अर्थात ३९ हजार ८ सय ४५ हेक्टर क्षेत्रफलमा मकै खेति लगाईंदै आईएको छ । लेकबेंसीमा नै लगाईने मकै बालीको उत्पादकत्व प्रति हेक्टर २ दशमलब ३ मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएका छन् ।
जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत मकै जोन सञ्चालनमा रहेका छन् । उक्त परियोजना सञ्चालन गरिएको ७ सय हेक्टर क्षेत्रफलमा भने प्रति हेक्टर ४ दशमलब ३ मेट्रिक टन मकै उत्पादन हुँदै आएको उल्लेख छ ।
खडेरी लागेपछि जिल्लाका सबै क्षेत्रमा मकै उत्पादन घट्ने किसानहरु बताउँछन् ।

प्रतिक्रिया