जनयुद्दका जीवित कथा : ‘रगत र आँशुबाट गणतन्त्र जन्मियो !’: देवान चाम्लिङ(पृथ्वी)को कथा

0
1324

–लडाईंका कथा
भूमिगत मूलधारबाट राजनीतिक लय समाउनुभएका खोटाङ चिप्रिङका देवान चाम्लिङ(पृथ्वी)सँग लडाईंका थुप्रै अनुभव र भोगाईहरु छन् । खोटेहाङ गाउँपालिका–५ का चाम्लिङसँग १० बर्षे शसस्त्र जनयुद्द ताकाका लडाईं तथा हार–जीतभित्र समेटिएका ज्युँदो कथाहरु रहेका छन् ।

हाल नेकपा खोटाङका अध्यक्ष रहनुभएका चाम्लिङ जनयुद्दका घटनाहरु सुनाउन उति चाख मान्नुहुन्न–‘अहिले युद्दका कुरा गर्दा मंसिरमा बसेर असारको कुरा गरे जस्तो असान्दर्भिक लाग्छ ।’ बाँयाँ पाखुरीको तल्लो भागमा अड्याईएको कृतिम हत्केलो (पन्जा)लाई अर्को हातले मुसार्दै बिस्तारै कुरा अघि बढाउनुभयो –‘आफू पुरिनका लागि आफैले गईंती–बेल्चा बोकेर हाँस्दै मोर्चा लड्न गएका हजारौं साथीहरुलाई तीनै औजारले चिहान खनेर पुरेर आएका छौ ।’

युद्दका क्रममा थुप्रै साथीहरुले दुस्मन(राज्यपक्ष)बाट आँखै अगाडी मृत्युबरण गरेका घटनाहरु उहाँलाई झलझली याद छ । लडाईंको मोर्चामा रहेका सहयोद्दाहरु घाईंते बन्दाखेरिको दर्दहरु पनि उहाँ सुनाउनुहुन्छ ।
२०३५ सालमा जन्मनुभएको चाम्लिङ जनयुद्दमा होमिने क्रममा बम, गोला, बारुदसँग आफै पनि मज्जाले घुलमिल भएको बताउनुहुन्छ । २०६१ माघ १९ गत्ते तत्कालिन राजा ज्ञानेन्द्रले गरेको सत्ता ‘क’ु को देशब्यापी प्रतिरोध कारबाहीको क्रममा उहाँले भोजपुरमा बाँयाँ हात गुमाउनुभएको छ । हातमै बम विस्फोट हुन पुग्दा पृथ्वीले बाँयाँ हात गुमाउनुभएको हो ।

निलो सर्टमाथि फुस्रो जरिकोट लगाउनुभएको उहाँ पीडामिश्रित गर्वानुभूति गर्नुहुन्छ–‘म अपाङ्ग हुन पुगेँ ! यद्यपी मेरो ५ एसल्टले उक्त सेबोटेज सफल पारेको थियो ।’ त्यस समयमा उहाँ जनकपुर–सगरमाथा क्षेत्रीय ब्यूरो भूगोल बृगेडको कार्य क्षेत्रमा रहनुभएको थियो । उदयपूरको बासबोटे ईलाकामा रहे पनि तात्कालिन राजाले गरेको ‘कु’ बिरुद्दमा उत्रन उहाँको टोलीलाई भोजपूर सेबोटेजको जिम्मा दिईएको थियो ।

निधार मुसार्दै बमले हात उडाउँदाको पललाई सम्झनुहुन्छ–‘हात गुम्यो तर होस् गुमाईंन । आँखा, टाउको र पेट छेद– बिछेद भएको अनुमान गरें ।’ उहाँले ज्यानको भन्दा कर्तब्य बढी ख्याल गर्नुभयो–‘सास जानु अघि आफुले डम्पिङ गरेको हातहतियार, गोलिगठ्ठा बिबरण र स्थान बिवरण टिपाउँन थालँे ।’ धेरै युद्द सामाग्री ड्रमभित्र माटोमा गाडेर सुरक्षित गरिने भएकोले ती बारे सबैलाई जानकारी नहुने भएकोले जानकारी गराउन आवश्यक भएको उहाँको भनाई छ । आफ्नो मृत्यु हुनु अनि ती हातहतियार तथा गोलीगठ्ठा बेपत्ता हुनु या दुस्मनको हातमा पर्नु भनेको ठूलो क्षति ब्यहोर्नु थियो ।
‘म बाँच्छु जस्तो लागेको थिएन ।’ उहाँ भन्नुहुन्छ– ‘मरे भने त्यो क्षति नहोस् भनेर नै हत्तार–हत्तार त्यो बिवरण टिपाएँ ।’ उहाँले गुमेको हातलाई भन्दा हतियारलाई प्राथमिकता दिनुभयो । पछाडी साथीहरुले आफुलाई सेल्टरसम्म पु¥याएको उहाँको सम्झना छ ।

पृथ्वीसँगै उक्त लडाईंमा सामेल साथीहरुले भने पृथ्वीलाई बचाउन नसकिने अनुमान गरेका थिए । पृथ्वी सुनाउनुहुन्छ–‘साथीहरुले पृथ्वीको अन्तिम प्राण कसरी जान्छ होला ? त्यो समय कसरी काट्नो होलाभन्दै पर्खिउँ भन्नुहुन्थ्यो ।’

उक्त घटनापछि लडाईं तथा आफ्नो जीवनको संगीनि कल्पनाले गरेको आत्मिय साथ र स्याहारलाई श्रद्दाका साथ सम्झनुहुन्छ । ‘पछि निको भएसी हामी दुवै २०६७ सालसम्म सङ्गै सेनामा काम ग¥यौं !’ घाईंते बनेपछि उहाँलाई उपचारको लागि भारत लैजान खोजिए पनि स्वयम आफैले अस्विकार गर्नुभयो । अन्य घाईंते तथा बिरामी साथीहरुलाई लाई भारततिर लैजाँदै गर्दा सिराहाबाट सेनाले पक्राउ गरेका थिए । त्यसमध्ये भोजपुरको सुधन युद्दबिराम भएपछि छुट्नुभएको पृथ्वीले बताउनुभयो ।

‘म भने सिन्धुली, ओखलढुङातिरको सेल्टर दिन–दिनै सर्दै करिब २ महिनाबीचमा अलि ठीक भयो ।’ बोल्दा बोल्दै एकैछिन रोकिनुहुन्छ अनि लामो सास तानेर भन्नुहुन्छ–‘अनि अपाङ्ग जीवनको सुरुवात भयो !’ घरमा केही नभनी युद्दमा होमिनुभएको देवान धेरैपछि घर जानुभएको थियो । त्यस समयको अनुभूति सुनाउनुभयो–‘घरबाट सगल्ती हिँडेको छोरो बाँयाँ हात बिना पुग्दा बाबासँग भेट्न अलि डर लागिरहेको थियो ।’ भन्नुभयो–‘तर बाबामा पनि विद्रोह र साहसको बीज भएकोले होला.. ।’ बाबाले त्यस बेला दिनुभएको प्रतिक्रियालाई जस्ताको तस्तै सुनाउनुभयो–‘स्याबास छोरा ! मेरो जस्तै साहस तँ मा पनि आयो, देशको लागि रगत बगाईस् ।’

त्यस अघि ओखलढुंगा रुम्जाटार लडाईंमै पनि उहाँ घाईंते हुनुभएको थियो । उक्त लडाईंमा ग्रिनेटले उहाँको देब्रे तिघ्रा र कम्बरमा चोट पु¥याएको छ । उक्त मोर्चामा लागेको तिघ्राको बेरिङ अझै निकालिएको छैन । अर्कै लडाईमा लागेको गोलीको छर्रा दुई आँखाको बीच भागमा अझै पनि अड्किएर रहेको उहाँ सुनाउनुहुन्छ । नाखभन्दा माथि र निधारभन्दा मुनि बीचैमा हातको औंलाले संकेत गर्दै देखाउनुहुन्छ–‘ यी यहाँ अझै पनि छाम्दा भेटिन्छ ।’

रुम्जाटार लडाईं दुवै पक्ष सल्लाह गरी–गरी आफनो आर्कमा लडेको पृथ्वीको भनाई छ–‘इलाका प्रबेश गर्दागर्दै सेनाको मोबाईल टोलीसँग तार घेराभित्र र बाहिर जम्का भेट भयो ।’ घटनाको फेहरिस्तलाई जोड्नुहुन्छ –‘उनिहरु तु कोतखाना फर्किए, बत्ती निभाए , गोलि भर्ने काम र हतियार पोस्ट पोस्टमा ओईराउने काम गर्यो ।’ कात्तिक महिनाको दोश्रो हप्तातिर भएको लडाईंलाई सम्झँदै सुनाउनुहुन्छ–‘लगभग १७ मिनेटको अन्तरालमा –लु सुरु गरौं ! भन्दै सल्लाह गरेरै लडाईं लडिउँ ।’ उक्त लडाईमा माओबादीतर्फ १९ जना र शाही सेनातर्फ क्याप्टेनको मृत्यु भएको थियो ।

देवान चाम्लिङ (पृथ्वी)ले जनमुक्ती शेनामा कार्यरत हुँदा १ दर्जन फौजी मोर्चाको एसल्ट कमाण्ड देखि बटालियनको पोल्टिकल कमाण्डसम्म सफलतापुर्बक सम्हाल्नुभएको छ । उहाँले सिन्धुलीको भिमान कार्बाही, ओखोलढुङ्गाको रानिबन प्रतिरोध लडाईं, रुम्जाटार एअरपोर्ट मोर्चा आदिमा लडाइ लड्नेदेखि बटालिएनको पोल्टिकल कमाण्ड गर्नुभएको अनुभव छ । त्यस समयमा भोजपुर सदरमुकाम मोर्चा, उदयपुर गाईघाट बोक्से, दिक्तेल कारागार , भोजपुरको पान्धारे, बन्दिपुर लगायतमा पनि उहाँले लडाकुदेखि कमाण्डरको भूमिका निर्वाह गर्नुभएको थियो ।

लडाईंकै कुराकानीलाई शिलशिला दिँदै जाँदा सिन्धुलीको भिमान पुगेर उहाँ निक्कै भावुक बन्नुहुन्छ । लडाईं अर्थात हार–जीत, क्षति–उपलब्धी, भावना–कर्तब्य जीवन–मृत्यु, पारिवारिक साथ र संबेदना यी सबैलाई एकै ठाउँमा राखेर केलाउने प्रयत्न गर्नुहुन्छ । उहाँले युद्दको मैदानमा लडाकुको जीवन संंगिनीहरुले लेखेको पत्र भेटिँदाको प्रशंगलाई केलाएर हेर्नुहुन्छ ।
पृथ्वीले भिमान लडाईंपछि मृतक प्रहरीको सर्च गर्दा उसैको जीवन संगीनीले बुनेको घरेलु पर्सभित्र एउटा चेपमा चिठी भेट्नुभयो । श्रीमतिले लेखेको उक्त चिठीको ब्यहोरा सुनाउनुहुन्छ–‘तपाईं फर्किनुहोस, बरु म जे गरेर भएनी पाल्छु, जागिर छोड्नुहोस ।’

त्यही लडाईंमा आफ्नै साथी शहिद भईसकेपछि सर्च गर्दा उनको पर्समा तत्कालै लडाईंस्थलमै चिठी भेटेको पनि सुनाउनुभयो । जहाँ लेखिएको थियो– ‘घरको कुनै चिन्ता नलिनु , तपाईं कातर भएको सुन्न नपाउँ, बरु लड्दा–लड्दै अगाडिबाट गोलि लागेर ढल्यो रे ! भनेको सुन्न पाउँ, तर कातर भएर भाग्दा पछाडीबाट गोलि लाग्यो रे भन्ने सुन्न नपरोस् । बाँचेर यूद्द जित्नु हुनेछ ।’ देवान चाम्लिङ स्वरलाई कस्सिलो बनाउँनुहुन्छ –‘त्यस्तै त्यस्तै प्रेरणाहरुले साथी ढल्दै गर्दा अर्कोले बन्दुक समात्ने साहस जुट्थ्यो ।’

दुवै चिठीको भाव सुनाईसकेपछि देवान चाम्लिङ अर्थात नेकपा खोटाङका अध्यक्ष प्रश्न गर्नुहुन्छ–‘आखिर नारी एकै तर सोच्ने तरिका कति फरक ? यो दुवै पत्रले निकै मर्माहत बनाए जो पल अझै सम्झनामा ताजा छ ।’
त्यही युद्दको प्रशंगलाई उहाँ अझै तन्काउनुहुन्छ–‘फौजी आक्रमणमा भिमान इलाका प्रहरी कार्यालयको एक आर्क मेरो जिम्मा थियो । त्यो बेला आक्रमण सुरु हुन अघि समय पर्खँदै समीक्षा गरेको याद छ मलाइ ।’ उहाँ भन्नुहुन्छ–‘त्यो बेला आफु उत्पीडित जातीय मुक्तिका लागि बन्दुक समातेर लड्ने किराती प्रतिनिधि भएकोले नि यो लडाईं शाहासको साथ लड्नु पर्छ मैले भन्ने सम्झिएँ ।’ तात्कालिन किराती राष्ट्रिय मूक्ति मोर्चाबाट जनमूक्ति सेनामा मिसिनुभएको पृथ्वीको त्यो पहिलो मोर्चा थियो । ‘सबभन्दा पहिले मेरो टिम एसल्टबाट नै त्यो आर्कको सबै पोष्ट कब्जा गरी आगो लगाइयो ।’ आफ्नो कमाण्ड सफल बन्नुमा युद्द कला सँगै पहिले–पहिले सुनेको लाहुरेहरुको साहसिक कथाको कारण पनि भएका उहाँ बताउनुहुन्छ ।

–जनयुद्दका समीक्षा

देवान चाम्लिङ पृथ्वीको समीक्षामा पार्टीको कतिपय निर्णय तहगत सम्प्रेषणमा गल्ती हुँदा सर्बसाधारणले कहिलेकाहीँ शास्ती खेप्नुपरेको थियो । ‘पाटीको निर्णय तल्लो तहसम्म आउँदा वा ब्याख्या गर्दा अपभं्रस समेत हुँदा सङठनले गर्ने केही काम कार्बाहीले सर्बसाधरणले कहिलेकाही दुःख पनि पाएका थिए ।’ उहाँको निश्कर्ष छ– ‘यद्यपी थुप्रै राम्रा र केही नराम्रा कामहरुको सम्झनाबीच जनयूद्दमा बगेको रगत, आँसु र पसिनाले नै गणतन्त्र जन्मियो ! ’ त्यसले दिएको राजनीतिक अधिकार तथा संबिधान हामी सबैलाई थाहा भएको पृथ्बी प्रष्ट पार्नुहुन्छ ।
–शहिद परिवार तथा अपाङ्ग र घाईंतेहरुलाई ?

जनयुद्द लगायतका अपाङ्ग तथा घाईंतेहरुले सामान्य ब्यक्ति सरह श्रम गर्न नसक्ने हुनाले यही ब्याख्या ल्याउन लडेका कम्यूनिष्ट पाटीका सरकारले निसङ्कोच मासिक पेन्सन घोषणा गर्नुपर्ने उहाँको माग छ । ‘सर्वसाधारण जनताहरुको समेत सक्रिय सहभागिता र वीर शहिदहरुको रगतबाट नै आज सामान्तबादको अन्त्य भयो ।’ आफ्नो धारणा राख्नुहुन्छ–‘जनताको छोराछोरी राष्ट्र प्रमुख हुने ब्यवस्था भयो । त्यही राष्ट्रपतिवाट घाईंते र शहिद परिवारलाई पेन्सनको व्यवस्था गराईए बगेको रगतको सम्मान हुन्थ्यो जस्तो लाग्छ ।’

– राजनीतिक उपलब्धी

१० बर्षे शसस्त्र माओबादी जनयुद्दबाट प्राप्त राजनीतिक उपलब्धी सन्तोषजनक नभएको देवान किराती(पृथ्वी)को स्विकार छ । उक्त असन्तोषजनक उपलब्धीप्रति टिप्पणी गर्ने संख्या मुलतः हिजोको जनयूद्द लडेकाहरु नै धेरै भएको उहाँको ठहर छ ।
‘राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्दै मृत्युपत्रमा हस्ताक्षर गरी देशको लागि सबै त्याग्न तयार भएर लडेका लडाकुहरुलाई शान्ति प्रक्रियासम्म आउँदा मुख्यतः ब्याबस्थापनको ठूलो सनस्या भएको छ !’ उक्त लडाकुहरुमा निरासा बढ्दै गए हातहतियार निर्माण सम्बन्धी ज्ञान तथा सीपको दुरुपयोग पनि हुन सक्ने खतरा भएको देवान चाम्लिङको बुझाई छ । भन्नुहुन्छ–‘ती शक्तिहरुलाइ समेत उचित ब्यबस्थापन गरी अबको बाँकी भिन्न प्रकृतिको शान्तिपूर्ण बर्ग संघर्षमा राज्यले सबैलाई सहभागी गराउनु आजको आबश्यक्ता छ !’

राजनीतिक अधिकारको अधिकतम उपलब्धीहरुबारे प्राथमिक तहको शिक्षादेखि नै शिक्षित गराउँदै सामन्तबादको अन्त्य, गणतन्त्र स्थापना, केन्द्रीकृत राज्यको बिघटन, सङ्घीयता–समाबेशीता आदिलाई राजनीतिक उपलब्धीको रुपमा शिक्षा दिनुपर्ने उहाँको तर्क छ ।

– बाल्यकालदेखि नै कम्यूनिष्ट, बुवाको कृतिबाट प्रेरित

वुवा स्वास्थ्यकर्मी(एच.ए)को जागिरे भएकै कारण देवानको बाल्यकाल एकै ठाउँमा बित्न पाएन । वुवा रामकृष्ण जागिरका क्रममा रहँदा झापाको चाराली भन्ने स्थानमा जन्म भयो । बुवाको सरुवा भएसँगै भोजपुर झ्याउपोखरीको सरस्वती माबिमा १ कक्षासम्म अध्ययन गराईयो । भोजपुरपछि उनको मावली खोटाङ वडकादियालेको दुम्छास्थित देवस्थान प्राविमा ५ कक्षासम्म अध्ययन पूरा भयो ।

देवानको बाजे बृटिस लाहुरेको पेन्सन भई गल्ला (लाहुरेमा भर्ति गराउने)को जिम्मा पाएका थिए । तर पनि लामो समयसम्म एक मात्र छोरा भएकोले रामकृष्णलाई भने लाहुरे नपठाउँदा जागिरे भई बिभिन्न स्थानमा जागिर खाँदै हिँड्नुपरेको देवानको भनाई छ । ‘निकै उमेरको दुरीमा काका जन्मिनुभएछ,’ देवान अनुमान गर्नुहुन्छ–‘एकाध बर्षको फरकमा दाजुभाई भएका भए हाम्रो यो इतिहास सायद बन्दैनथ्यो ।’

मावली बसाईको पढाईपछि देवानले भगवती उच्च माबि खोटाङबजारबाट प्लस टू सम्मको अध्ययन पूरा गर्नुभयो । तर देवानलाई याद छ की कम्यूनिष्ट राजनीतिक चेत भने उहाँमा मावलीमा बस्दा बस्दै आएको थियो ।
‘पन्चायतकालको बिरोधी क्रान्तिकारीहरुको सेल्टर मेरो मावली घर पनि थिएछ ।’ उहाँ बोल्नुहुन्छ–‘मामाहरु कम्यूनिस्टको भएसी ०४६/४७ को बहुदलिय ब्यवस्थाको सभा र क्रान्तिकारी साँस्कृतिक कार्यक्रमहरु सुन्दा–सुन्दै कम्यूनिस्ट भईएछ ।’ राजनीतिक प्रेरणाको स्रोत उहाँ आफ्नो मामाहरु र वुवाको उपन्यासलाई पनि मान्नुहुन्छ ।

हित्यमा समेत राम्रो दख्खल भएको उहाँको बुवाले लेख्नुभएको ‘कालो पर्दा’ नामक कृतिले आफुलाई बिभेद बिरुद्द लाग्ने प्रेरणा मिलेको उहाँको उक्ति छ । बुवाले लेख्नुभएको ‘कालो पर्दा’ उपन्यास जब पढें झन म माथि उर्जा मिल्यो ।’ उहाँ स्पष्ट पार्नुहुन्छ–‘माथिल्लो र तल्लो जातको अन्र्तबिरोधलाई त्याँहाँ उजागार गरिएको छ ।’

– भूमिगत राजनीतिमा आरोह–अवरोह

हालको नेकपा जिल्ला अध्यक्ष देवान चाम्लिङ बिद्यालय तहदेखि नै कम्यूनिष्ट निकट बिद्यार्थी संगठनहरुमा आबद्द हुनुहुन्थ्यो । भगवती उच्च माबिमा अनेरास्वबियु प्रारम्भिक कमिटि हुँदै नेतृत्व समेत गरिसक्नुभएको देवान किराती २०५४ देखि भूमिगत राजनीतितिर आकर्षित हुनुभयो । पुख्र्यौलदिेखि नै राम्रै आर्थिक अवस्थामा चलिरहेको देवान किराती ‘पृथ्वी’ आफै पनि ब्यापार व्यवसायमा तल्लिन हुनुहुन्थ्यो । तात्कालिन खम्बुवान राष्ट्रिय मोर्चाले जातिय मुक्तीबारे लिएको नीतिको प्रभाब र कम्यूनिस्ट हरुको फुटले भुमिगत आन्दोलन तिर आकर्षित गराएको हो ।

‘ २०५७ भाद्र महिनादेखि पुर्ब खम्बुवान राष्ट्रिय मोर्चाको भुमिगत आन्दोलनमा पुर्णकाकिन यात्रा सुरु गरियो ।’ उहाँ सुनाउनुहुन्छ–‘त्यसपछि किराती राष्ट्रिय मुक्ति मोर्चाको गठनसँगै मोर्चाको केन्द्रीय सदस्य हुँदै तात्कालिन माओबादी जनमुक्तिसेनासँग किराती राष्ट्रिय मोर्चा अन्तर्गत चोमोलुङ्मा प्लाटुनको समायोजन गरि पुर्वी भुगोलमा कार्यरत सैन्य कम्पनीको एउटा प्लाटुनको सह–कमाण्डर हुँदै प्लाटुन कमाण्डर र तात्कालिन रामबृक्ष ब्रिगेड बटालियन कमिसारको जिम्मेवारी कुशल ढंगले पूरा गरेँ ।’

राजनीतिक उत्तरचढावमा पृथ्वीले धेरै खालका जिम्मेवारी तथा अनुभवहरु संगाल्नुभएको छ । ‘यता बैचारिक नेतृत्व गर्ने किरात राष्ट्रिय मुक्ति मोर्चाको बिघटन र किरात वर्कस पार्टीको गठन पश्चात् छोटो समय त्यस पार्टिको केन्द्रीय सदस्य समेत रहेँ ।’ चाम्लिङ बताउनुहुन्छ––‘गोपाल किराँती नेतृत्वको किरात वर्कस पार्टी र नेकपा माओबादीवीच बिराटनगरमा भएको शीर्ष बार्ता टोलिको सदस्य रहेर क. प्रचण्ड, मोहन बैद्य, बाबुराम लगायतका टोलीसँग बार्ता सदस्य भई एकताको महत्वपुर्ण भुमिका निर्बाह गरेको छु ।’

उक्त एकता पश्चात देवानले भोजपूर जिल्ला सेक्रेटरी(सचिब) को भुमिकामा काम गर्नुभएको थियो । त्यसपछि जनमूक्ति सेनाको पोल्टिकल कमाण्डर, कम्पनी कमिसार हुँदै बटालियन कमिसारको नेतृत्व गर्नुभएको थियो । देवान चाम्लिङ (पृथ्वी) प्रचण्ड नेतृत्वको माओबादी केन्द्रीय अधिबेशन आयोजक सदस्य र खोटाङ जिल्ला सह–इन्चार्ज, अध्यक्ष समेत रहनुभयो । जिल्ला सेक्रेटरी, अध्यक्ष हुँदै अघि बढ्नुभएको देवान चाम्लिङ (पृथ्वी) हाल नेपाल कम्यूनिस्ट (नेकपा)को जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य रहनुभएको छ ।

पार्टीले दिएको जिम्मेवारीलाई सदुपयोग गर्दै देश जनताको हितमा काम गर्ने उहाँले प्रतिबद्दता जनाउनुभएको छ ।

    –रामधन बेदना                            

 

प्रतिक्रिया