उत्तम चौलागाँई
खोटाङ १७ माघ । खोटाङलाई प्लाष्टिक झोलामुक्त गरिने भएको छ । पसलेहरुले ग्राहकहरुलाई विभिन्न सामग्री बिक्री बितरण गर्दा प्लाष्टिक झोला अत्याधिक प्रयोग गरेका कारण वातावरणमा प्रतिकुल असर परेको भन्दै जिल्लालाई प्लाष्टिक मुक्त गरिने भएको हो ।
प्लाष्टिक झोलामुक्त गर्नका लागि जिल्ला विकास समितिको आयोजनामा गरिएको बैठकमा २०७३ साल फाल्गुण मसान्तभीत्र सवै संघसस्था तथा कार्यालयहरुले चेतनामुलक कार्यक्रम गरि अभियान चलाउँने र ऐन कार्यान्वयनका लागि जिल्ला अनुगमन समितिलाई सहयोग गर्ने निर्णय भएको छ । जिल्लास्थित राजनैतीक दल, उद्योग वाणिज्य संघ, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरु, पत्रकार नागरिक समाजलगायतले जिल्लालाई प्लाष्टिक झोलामा प्रतिवन्द्ध गर्नका लागि सहमति जनाएका छन् । 
सामग्री प्रयोग गरेपछि जहाँतही प्लाष्टिक फालीने गरिएको र गाईबस्तुलगायतका जनावरहरुले खाएपछि पचाउँन नसक्ने भएका कारण मर्नेलगायतका समस्या देखिने भएकोले तत्काल प्लाष्टिक झोला प्रयोगमा न्यूनिकरण गरि जिल्लालाई प्लाष्टिक झोलामुक्त गरिने जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए । उनका अनुसार, ‘एक सय वर्षसम्म पनि प्लाष्टिक नसड्ने भएका कारण यसले विभिन्न समस्या निम्त्याउँन र प्लाष्टिकका सामग्रीमा खानेकुरा खाए त्यसले पनि असर गर्ने सक्ने भएकोले प्लाष्टिक झोला प्रयोगमा प्रतिवन्द्ध गरिन लागिएको हो ।’
यसैविच, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घरेलु तथा साना उद्योग, उद्योग बाणिज्य संघ र योजना तथा अनुगमन समितिका योजना अधिकृतले सदरमुकामका सवै पसलमा अनुगमन गर्ने भएका छन्  । 
आगामी दिनमा कुनै पनि  कार्यालयहरुमा प्लाष्टिकका सामान नराख्न प्रमुख जिल्ला अधिकारी प्रल्लाद पोखरेलले निर्देशन दिएका छन् । उनले कार्यालयमा प्लाष्टिकका गीलासको चिया प्रयोग, डिउलगायतका पिय पदार्थका प्लाष्टिक सामग्रीहरु प्रयोग गरे तत्काल डढाउँन आग्रह गरेका छन् ।  प्लाष्टिकका झोला प्रतिवन्दपछि स्थानीयस्तरमा उत्पादन गर्न सकिने जुटलगायतका झोला प्रयोगका लागि संभावानाका विषयमा पनि छलफल भएको छ ।