जनयुद्दका मृतक तथा बेपत्ता पारिएकाको परिवारलाई रकम

0
446

खोटाङ असार–२, खोटाङमा जनयुद्धको समयमा ज्यान गुमाएका तथा वेपत्ता पारिएकाको परिवारका लागि एक करोड रुपैंयाँ बढि राहत रकम आएको छ । जनयुद्धको समयमा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिको नजिकको हकदारलाई प्रदान गर्ने गरी गृह मन्त्रालयबाट एक करोड २८ लाख ५० हजार रुपैंयाँ रकम आएको हो ।

मन्त्रालयले आर्थिक वर्ष सकिन लाग्दा हालसम्म १० लाख रुपैंयाँ सहायता रकम नपाउने हकदारका लागि सहायता रकम पठाएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेको अवधिमा जिल्लाका १ सय २६ सर्वसाधारण र ३९ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । जनयुद्धको क्रममा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिको हकदारलाई हालसम्म पाएको रकम गणना गरी कुल १० लाखमा नबढ्ने गरी उपलव्ध गराउने शर्तमा रकम आएको सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईले बताउनुभयो ।

मन्त्रालयले जेठ २३ गते पठाएको पत्रमा हालसम्म सो रकम नपाएका वा रकम पाउनै छुट भएका जनयुद्धका पीडित परिवारले मात्र सो आर्थिक सहायता पाउने उल्लेख छ । युद्धको क्रममा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिको हकदारलाई नेपाल सरकारबाट १० लाख राहत तथा आर्थिक सहायता उपलव्ध गराउने कार्यक्रम अन्तरगत गृह मन्त्रालयले पठाएको रकम आगामी असार १० गतेभित्र आवश्यक कागजातसहित लिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

युद्धका क्रममा ज्यान गुमाएका परिवारलाई राज्यले यसअघि किस्ता–किस्तामा राहत तथा सहयोग रकम उपलव्ध गराउँदै आएको छ । ज्यान गुमाउनेमध्ये हालसम्म ३८ जनाले मात्र १० लाख लिन बाँकी रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया