खोटाङ जेठ–२४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ लामाखुमा जन्मनुभएको पूर्व बेलायती सेना तथा प्रधानपञ्च तथा पूर्व गाबिस अध्यक्ष भलमान राईको निधन भएको छ । सोही वडाको वडाध्यक्ष हर्कराज राईको वुवा भलमानको ८६ वर्षको उमेरमा उपचारको क्रममा बुधबार काठमाण्डौमा निधन भएको हो ।

बि.सं. १९९० साल साउन २९ गते जन्मनुभएका राईको पार्थिव शरीर बिहिबार हेलीकोप्टरमार्फत गाउँमा ल्याएर अन्त्येष्टी गरिएको छ । बेलायती सेनाबाट अवकाश प्राप्त भलमान २०४९ सालमा गाबिस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । बेलायती सेनाबाट पेन्सनमा निस्किएपछि उहाँ २०२८ सालमा प्रधानपञ्चमा पनि चुनिनुभएको थियो ।

राईको अन्त्येष्टीका क्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, नेकपा नेता होमकाजी आचार्य लगायतका नेता निर्मलीडाँडा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले राईको पार्थिव शरीरलाई नेकपाको झण्डा ओढाउनुभएको थियो । समाजबादी पार्टीका नेता धनकुमार राईले पनि मृतक राईप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । दम, प्रेसर लगायतका समस्याले सताएपछि उनलाई बैशाख २८ गते अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ ।

राईको निधनले वडाध्यक्ष हर्कराज राई लगायतका परिवार तथा आफन्त शोकमा परेका छन् । स्वर्गीय राईका नौ छोरी र दुई छोरा छन् ।

उहाँको निधनले अगुवा सामाजिक अभियन्ता र अभिभावक गुमेको जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताउनुभयो ।