खोटाङ जेठ२०,   खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई प्राङगारिक कृषि क्षेत्र बनाउने अभियानको सन्देश दिईएको छ । सोमबार एक दिने बिशेष कार्यशाला गोष्टीको आयोजना गरी नगरपालिकालाई रासायनिक मल तथा बिषादीमूक्त बनाउने अभियानको सन्देश दिईएको हो ।

नेपाल कर्माकल्चर समुह(एनपीजी), बबरमहल काठमाण्डौंसँगको सहकार्यमा प्राङगारिक कृषि अभियानका लागि एक दिने गोष्टी आयोजना गरी अभियान सुरु गरिएको सन्देश दिईएको हो । नगरपालिकाभित्रका सम्बन्धित सरोकारवालाहरुको बृहत सहभागिता भएको कार्यक्रममा रासायनिक मल तथा बिषादी प्रयोग गरिएको कृषि उपजले मानब स्वास्थ्यमा पार्ने असरहरुको बिषयमा छलफल तथा अन्र्तक्रिया गरिएको छ ।

कार्यक्रममा अर्गानिक कृषि अभियानमा काम गरिरहेका कर्मा कल्चर समुहका अध्यक्ष प्रेमबहादुर थापाले रासायनिक मल तथा बिषादीको असर तथा अर्गानिक कृषिको सम्भावनाका बारेमा प्रस्तुति गर्नुभएको थियो । यस्तै, अर्गानिक कृषि अभियानमा लामो समयदेखि लागिरहेको नगरपालिकाका वडा नम्बर –१२ जालपाका बिकास राई, शुभम फउण्डेसनका सुर्य राईले उक्त बिषयमा प्रस्तुति दिनुभयो ।

यस अभियानमा सबैले अपनत्व लिनुपर्ने नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । कृषि कार्यसँग सम्वन्धित ब्यक्ति तथा सम्वन्धित कार्यक्रम सञ्चालन गर्ने संघ संस्थाहरुको अभियान अर्गानिकतिर केन्द्रीत हुनुपर्ने नगर प्रमुख रिजालको भनाई छ । सोही सन्देश दिनका लागि बिशेष कार्यशालाको आयोजना गरी अभियान अघि बढाईएको उहाँको भनाई छ ।

नगरपालिकाले ब्यवस्थित ढंगले अभियान सुरु गरिएको भन्दै नगरप्रमुख रिजालले रासायनिक मलको अनुदानको बिकल्पमा कम्पोष्ट प्लाण्टको बिकल्प सँगै अघि बढाईएको जनाउनुभयो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा कृषि सहकारी, संघसंस्था, अनुभवी अगुवा कृषक, पशु सेवाका कर्मचारीहरु, कृषिसँग सम्बन्धित कार्यालय, राजनीतिक दलाका नेता, पत्रकार लगायत नगरपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता थियो ।

कार्यक्रममा सहभागी सबैले नगरपालिकालाई रासायनिक तथा बिषादीमूक्त बनाउन लागि पर्ने जनाएका छन् ।