खोटाङ, २४ माघ । खोटाङको च्यास्मीटार–४ पाहुरीपाखाका नवलसिं राईले पालेको गाईले पाँच खुट्टा भएको बाच्छा पाएको छ । गाईले अगाडिको दायाँ खुट्टाको टुप्पामा जोर खुर भएको बाच्छा व्याएपछि अनौठो मान्ने र हेर्न आउनेको भीड लागेको छ । 

खेतीपाती र ज्याला मजदुरीको काम गर्दै आएका राईको गाईले माघ १९ गते बिहान ९ बजे पाँच खुट्टा भएको बाच्छा व्याएको हो । पहिलो बेतमा जन्मिएको बाच्छाको जोर हाड जोडिएको भएपनि खुर भने छुट्टै देखिन्छ । खैरो रङको बाच्छाको खुट्टाको टुप्पामा करिब २÷२ ईन्च लामो दुई वटा खुर रहेको स्थानीय मिलन राईले बताए । 
स्वस्थ भएपनि बाच्छाले जोर खुर भएको खुट्टाले टेक्न सक्दैन । सो खुट्टा खुम्चिएकाले अन्य तीन वटा खुट्टाले मात्र टेकेर उभिने गरेको छ । अस्वभाबिक खुट्टा भएको बाच्छाका विषयमा गाउँमा चासो र चर्चा भइरहेको छ ।