खोटाङ ९ जेठ । मध्य पहाडी राजमार्ग अन्तर्गतको साम्सु खोला पुल जुनसुकै बेला पनि बगाउने खतरा देखिएको छ । वर्षाको समयमा जुनसुकै बेला ठूलो बाढी आउने भएको र त्यस खोलामा होचो पुल बनाएको कारण जतिसुकै बेला पनि बगाउने खतरा देखिएको हो ।

चार नम्बर प्याकेजमा पर्ने उक्त पुल रमण गोल्डेन गुड जेबी कम्पनीले निर्माण गरिरहेको छ । पुलको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । गोल्डेनले जिम्मा लिएपछि पुल निर्माण तिब्र गतिमा अघि बढे पनि डिजाइनमा ख्याल नगर्दा दिर्घकालिन हुनेमा भने शंका उत्पन्न भएको हो ।

स्थानीयहरुले पुल होचो भएकाले खोलामा बाढी आउँदा बगाउने सम्भावना देखिएको बताएका छन् । एक स्थानीय भन्छन् ‘त्यस खोलामा अहिले बनाएको पुल भन्दा धेरै माथिबाट भल बाढी बग्ने गरेको छ, अहिले होचो पुल बनाएकाले बाढी आउँदा नबगाउँला भन्न सकिन्न ।’ ती स्थानीय जस्तै अन्यको भनाई पुल बनाए पनि दिर्घकालिन हुने नबनेको छ ।

पुलको डिजाइन गर्ने समयमा उचित ध्यान नदिँदा राज्यको करोडौं लगानीको सही सदुपयोग नभएको गुनासो छ । कतिपयले त उक्त पुलको डिजाइन नै स्वीकृत नहुनुपर्नेमा कसरी भयो भन्दै आश्चर्य प्रकट गरेका छन् ।

एक इन्जिनियरले त्यस पुल बनिसकेकाले पुललाई जोगाउनका लागि पुल मुनि जाली बिछ्याएर खोलालाई डाउन गर्न सकिने सुझाव दिए । यतिकै छाडेमा वर्षाको समयमा पुलमा क्षति पुग्न सक्ने भएकाले खोला मुनि अलिक गहिरो खन्ने र तार जाली गरे पुलमा क्षति नपुग्ने उनको सुझाव छ ।