खोटाङ ९ जेठ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको बाझेच्यानडाडाँ–दिक्तेल सडक खण्डमा सडक निर्माणमा ब्यापक ढिलासुस्ती र गुणस्तरहिन काम भइरहेको पाइएको छ । ठेकेदार कम्पनीहरुले गुणस्तरहिन काम र ढिलासुस्ती गरिरहँदा सरकारी पक्षले चासो समेत नदिएको पाइएको छ भने ठेक्का लिएर ठेकेदारहरुले महिनौंसम्म काम नगर्दा समेत जनप्रतिनिधि तथा सरकारी पक्ष मौन छन् ।

भिडियो हेर्नुहोस्, सेयर गर्नुहोस्

त्यस सडक खण्डमा ठेकेदारले सडक निर्माणमा ब्यापक ढिलासुस्ती र ठेक्का लगाइएका पुलहरु अलपत्र अवस्थामा छाडेका छन् । आठ वटा पुल निर्माण गर्नुपर्नेमा २ वटा मात्र पुल बनेको छ भने कतिपयको त जग मात्र खनेर छाडिएको छ ।

निर्माणधिन सडक समेत गुणस्तरीय बालुवाको सट्टा बलौटे माटो मिसाएर सडकका पर्खाल लगाइरहेको भेटिएको छ । केही समय अघि तीन नम्बर प्याकेजमा पर्ने सडक खण्डमा बलौटे माटो मिसाएर पर्खाल लगाइरहेको भेटिएको थियो । रमण गोल्डेन गुड जेबी कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर हिमाल पौडेलले भने गुणस्तरीय काम भइरहेको दाबी गर्छन् ।

सडक निर्माण प्रयोग भइरहेको तस्बीरसहित हामीले प्रमुख जिल्ला अधिकारीसँग प्रतिक्रिया लिँदा गुणस्तरहिन काम गरेको भेटिएमा कारबाही गर्ने आश्वासन दिएका थिए ।

सिद्धि साई कम्पनी र गणेश लामाको कम्पनीले उक्त सडक खण्डमा झनै ढिलासुस्ती गरिरहेको स्थानीयले गुनासो गरेका छन् । ती कम्पनीले महिनौंसम्म पुल तथा सडक निर्माण नगरी बस्दा पनि सम्बन्धित निकायले आवश्यक कारबाही गर्न सकेको छैन । सम्बन्धित निकायको कमजोरीकै कारण उक्त सडकखण्डमा चरम ढिलासुस्ती र गुणस्तरहिन काम भइरहेको भन्दै स्थानीयहरुको ब्यापक गुनासो रहेको पाइएको छ । सरकारी पक्षको कम सक्रियता र ठेकेदार कम्पनीको ढिलासुस्तीले जिल्लाकै विकासमा असर परिरहेको छ भने जिल्लाबासीले पनि अनावश्यक दुःख खेप्दै आउनु परेको छ ।