दक्षिणबाट उदाएकी रंगीन ‘रश्मी’

0
1047

खोटाङ  जेठ–५, नेपाली गीतसंगीतको फेहरिस्त केलाउँदा बच्चुकैलास राई देखि सुरु भई अनगिन्ती नामहरुको हिसाब राख्छ खोटाङले । जिल्लामा जन्मेर जसले उक्त क्षेत्रमा जसले हात हाल्यो उसले देशबिदेशमा आफुलाई स्थापित गरेरै छाडेका छन् । गीतसंगीतको मेसोमा लाग्ने खोटाङेले पछाडी फर्केर हेर्नु पर्दैन भन्ने सर्बब्यापी मान्यता जस्तै बनेको छ । समग्र नेपाली गीतसंगीतको क्षेत्रमा खोटाङले निक्कै ठूलो हिस्सा ओगटेको कुरा कसैले नकार्न सकिँदैन ।

अतः गीतसंगीतको उर्बर भूमि खोटाङको दक्षिणी क्षेत्रबाट अर्को एक जना प्रतिभाले आफुलाई योग्य गायिकामा दर्ज गराउन सफल बनेकी छिन् । जन्तेढुङ्गा गाउँपालिका –४ डम्वर्खुशिवालयको चुम्लुङमा जन्मिएकी रश्मी राई सानै उमेरदेखि गीत गाउँथिन् । चिसापानी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेपछि थप अध्ययन र गायकीलाई मुर्त रुप दिने सपनासहित काठमाडौं पसेकी रश्मीले बिभिन्न समस्या तथा चुनौती त झेल्नु प¥यो नै । चुनौती नै रश्मीको लागि सफलताको सुत्र बन्दै गयो । कमैले मात्र धेरै वटा भाषामा गीत गाउने क्षमता र अवसर पाउँछन सायद । रश्मीको एउटा अर्को छुटाउनै नमिल्ने परिचय बन्यो की उनी चार वटा भाषामा गीत गाईसकेकी गायिका हुन् ।

गायनमा अब्बल रश्मीले नेपाली भाषा बाहेक चाम्लिङ, वान्तावा र कोयु भाषामा आफ्नो स्वर दिईसकेकी छिन् । निख्खर र तिख्खर स्वर भएकी रश्मीको हालसम्म दुई दर्जन बढी गीत बजारमा आईसकेका छन् ।
‘एक–दुई–तीन भन्दै…’ वोलको गीत नै उनको पहिलो रेकर्ड भएको गीत हो । पहिलो गीतले भने जस्तै उनले एक, दुई, तीन गर्दै लगातार गीत गाउने अवसर पाईरहिन् । जिल्लाको समग्र सेरोफेरोलाई शव्दमा समावेश गरिएको ‘दुम्रेधारापानी हाटैमा..’, ‘फर्की आउँनु है राजा..’, ‘जलेको छ मेरो मुटु छिया–छिया पार्छौ…’, ‘धरान शहरको भानु चोकमा…’ आदि वोलका चलेका गीतहरु उनै गायिका रश्मीको हो । ‘ए है हो सोल्टी ज्यू..’, ‘नाकैमा टल्केने झम्के फुली..’, ‘बरको छाँयाले मर्नु न बाँच्नु पार्यो है मायाले..’ जस्ता गीतहरु पनि गायिका रश्मी राईकै हो ।

रश्मीले गाएका अधिकांस गीतहरु यूवापुस्तामा मिल्दोजुल्दो भएकाले पनि सफलता पाएको रश्मीको महशुष छ । रश्मीले गाएका अधिकांश गीतको भिडियो पनि बजारमा आएका छन् ।
राजेशपायल राईको गीतहरु सुनेर गायनमा प्रबेश गरेको बताउने रश्मीका अनुसार ‘रैछाकुले माईतीको चेली हुँ म खियामा..’ र ‘भेडेटारमुनी सुन्दर धरान बजार..’ वोलको गीत यही साताभित्र सार्बजानिक हुँदैछ ।

अर्को अनौठो पक्ष भनेको गाउन सुरु गरेको रश्मीको समयावधी भनेको पुगनपुग दुई बर्ष मात्र हो । दुई बर्षभित्रै यति धेरै गीतहरु गाउनु भनेको उनको संगीतप्रतिको त्याग, समर्पण र मेहनत भएको गीतसंगीत पारखीहरु बताउँछन् । गीतसंगीतकर्मीहरुको अनुसार रश्मी राई बास्तवमै गायिका रश्मी राई बनिसकेकी छिन् ।

प्रतिक्रिया