खोटाङ बैशाख–२५, किरात राई विद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलनबाट वरिष्ठता अर्थात वरियताकै आधारमा सर्बसम्मत नेतृत्व चयन हुने बताईएको छ । बिहिवार खोटाङ सदरमुकाम दिक्तेलबजारमा उद्घाटन हुने सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुने बिश्वास लिएको अध्यक्ष बिर्षिका राईले बताउनुभयो ।

३ दिने राष्ट्रिय सम्मेलन उद्घाटनको पूर्व सन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा अघिल्लो सम्मेलनहरुमा जस्तै यो पटक पनि वरिष्ठताको आधारमा सर्बसम्मत नेतृत्व चयन हुनेमा ढुक्क रहेको अध्यक्ष राईले सुनाउनुभयो । अग्रजलाई सम्मान र बिश्वास गर्ने किरात राईहरुको संस्कृतिका निरन्तरताका कारण पनि नेतृत्व निर्बिवाद चयन हुने उहाँको भनाई छ । सर्बसम्मत नेतृत्व चयनमा राजनीतिक आस्थाले प्रभावित गर्ने अड्कलबाजी चलिरहेको सन्दर्भमा अध्यक्ष राईले ‘सर्बसम्मत चयन’लाई सार्वजानिक गर्नुभएको हो ।

‘स्वभाविक रुपले नेतृत्वका लागि गर्ने जना धेरै देखिए पनि सिनियरकै हिसावले नेतृत्व छनौट हुन्छ’ अध्यक्ष राईले भन्नुभयो–‘आजसम्मको इतिहासमा राई बिद्यार्थीको नेतृत्व सर्बसम्म्मत रुपमै चयन हुँदै आएकाले खोटाङमा सम्पन्न हुने सम्मेलनबाट पनि सर्बसम्मत नै हुन्छ ।’ हाल केन्द्रीय कार्य समितिको उपाध्यक्ष रामचन्द्र राई र जीतेन राई रहनुभएको छ । यस्तै, महासचिब सोभित राई, सचिब रबिन राई र सुसन राई तथा कोषाध्क्ष प्रबिणा राई रहनुभएका छन् ।
राई लगायत समग्र विद्यार्थीको हकहीतमा काम गर्दै आएको विद्यार्थी संघलाई बाहिरबाट हेर्दा राजनीतिक मुद्दाहरुलाई अघि सारेर आन्दोलन गरिरहेको देखिए पनि आफ्नो संगठनले शैक्षिक क्षेत्रका नीतिगत मुद्दाहरुलाई नै प्राथमिकता दिएको अध्यक्ष राईको दाबी छ । बैज्ञानिक शिक्षा प्रणालीको माग गर्दै आएको किरात राई बिद्यार्थी संघको समानुपातिक–समाबेशीता अर्को माग भएको उल्लेख गरिएको छ ।

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा उद्घाटन हुने सम्मेलनको मूल नारा ‘पहिचान सहितको सङ्घीय शिक्षा लागु गरौं, किरात स्वायत्त राज्य निर्माणको लागि गाउँ नगर जाऔं ’ भन्ने रहेको छ । पुर्बी नेपालको १४ तथा उपत्यकाका तीन गरी १७ जिल्लामा ६० हजार बढी साधारण सदस्य रहेको संगठनको यस सम्मेलनमा ५ सय बढी प्रतिनिधि तथा पर्यबेक्षकको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनलाई किरात राज्य प्राप्तीको मिसन आन्दोलनको रुपमा अघि बढाउने बताईएको छ । बिद्यार्थी संघले नवौं सम्मेलनमा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण भई पठनपाठन भईरहेको बिद्यालयहरुमा भाषिक शिक्षकको ब्यवस्था गर्नुपर्ने प्रस्ताब समेत गरेका छन् ।

स्थानीय हेलिप्याडमा उद्घाटन हुने कार्यक्रमलाई भब्य बनाउनका लागि चर्चित रियालिटी शो ‘भ्वाईस अफ नेपाल’वाट चर्चा कमाउन सफल गायिका श्रेया राई लगायतको कलाकार टोलीको प्रस्तुतिलाई आकर्षणको रुपमा राखिएको छ । यस्तै, गायक तथा संगीतकार राई नबिन, रेडियो नेपालको राष्ट्रब्यापी जागरण गीत प्रतियोगितामा प्रथम बन्न सफल गायक केबी राई, गायक तथा संगीतका पदम थुलुङ राई, कुलराज राई लगायतका कलाकार टोलीको बिशिेष प्रस्तुति रहने जनाईएको छ ।