प्रदेश एकको नामले लफडा, किरात र सगरमाथा मध्ये एकको सम्भावना

0
440

काठमाडौं । प्रदेश नम्बर एकको नामकरण के गर्ने र केन्द्र कहाँ राख्ने भन्ने विषय चरम उत्कर्षमा पुगेको छ । नाम र केन्द्रको विषयले फेरि एक पटक प्रदेश एक तातेको छ भने आफू अनुकुल केन्द्र र नामकरण गर्न नेताहरु तातिएका छन् ।

तत्कालिन माओवादी पक्षधरले प्रदेश एकको नाम किरात राख्न माग गरिरहेका छन् । तर, प्रदेश नाम सगरमाथा वा कोसी राख्न उत्ति नै ठूलो आवाज उठिरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता रामकुमार राई पासाङले सार्वजनिक रुपमा नै किरात नाम नछाड्ने घोषणा गरेका छन् । तर, नेकपाभित्रै किरात नाम राख्दा सर्वसम्मत् नहुने भन्दै विकल्पमा सगरमाथा राखे उचित हुने तर्क दरिलो छ । प्रदेश एकमा लिम्बु समुदायको पनि बाक्लो सहभागिता छ । उनीहरुले पनि लिम्बुवान राख्न लबिङ गरिरहेका छन् । क्षेत्री ब्राम्हण र तत्कालिन एमाले र कांग्रेसका नेताहरुले भने भुगोलको आधारमा नामकरण गरिनुपर्ने र सगरमाथा वा कोसी नामकरण गरिनुपर्ने लबिङ गरिरहेका छन् ।

यसअघि, दुई वटा प्रदेशले भुगोलको आधारमा आफ्नो प्रदेशको नामकरण गरेका थिए । प्रदेश ६ को नाम कर्णाली र प्रदेश चारको नाम गण्डकी राखिएको थियो । प्रदेश एक, प्रदेश २, प्रदेश ३, प्रदेश ५ र प्रदेश ७ ले नामकरण गर्न सकेका छैनन् ।

यता, प्रदेश एकको प्रदेश केन्द्र र नामको टुंगो लगाउन दुई पटक बसेको सत्तारुढ दल नेकपाको बैठकले नाममा सहमति जुटाउन सकेन । बैठकले प्रदेशको केन्द्र विराटनगर राख्ने निर्णय गरेपनि विवादित देखिएको छ । सुगमलाई नै रोजेको, केन्द्र सबै जिल्लाको पायक पर्ने र बिच भागमा नभएको, भारतीय सिमा नजिक भएको, औद्योगिक क्षेत्र भएको र प्रदेश केन्द्रका लागि आवश्यक बस्तीहरु विस्तार गर्ने ठाउँ पनि नभएको भन्दै विराटनगर केन्द्र उचित नहुने आवाज उठिरहेको छ । यसअघि धरान र धनकुटा केन्द्र हुनुपर्ने माग गर्दै आन्दोलनसमेत भएको थियो । इटहरीलाई केन्द्र बनाउन सकिने सुझाव पनि रहँदै आएको थियो । यसका बाजजुत सत्ताधारी दल नेकपाले केन्द्र विराटनगर नै रोजेको हो ।

स्थायी राजधानीका लागि ४ वटा प्रस्ताव
प्रदेश सभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण दुवैको प्रस्ताव आहृान गरेकोमा स्थायी राजधानीका लागि ४ वटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशसभा सचिवालयमा आइतबार स्थायी राजधानीका लागि विराटनगरको पक्षमा २ वटा र धनकुटाको पक्षमा २ वटा प्रस्ताव दर्ता भएका छन् ।
स्थायी राजधानी विराटनगर र कार्यपालिका, व्यवस्थापिका लगायतका संरचनाहरू बृहत् विराट विकास क्षेत्र अन्तर्गतका विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहने गरी सत्तारुढ दल नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी प्रस्तावक र सांसदहरू लिलम बस्नेत, राजकुमार ओझा, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी र यशोधा अधिकारी समर्थक रहेको प्रस्ताव दर्ता भएको छ।

यसैगरी सत्तारुढ दल नेकपाकै धनकुटाका सांसद निरन राई प्रस्तावक रहेको र इन्द्रमणि पराजुली र कुसुम श्रेष्ठ समर्थक रहेको अर्को प्रस्ताव समेत दर्ता भएको छ। तीनै जना धनकुटाका सत्तारुढ दलका सांसदले धनकुटालाई नै स्थायी राजधानी घोषणा गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।

विराटनगरलाई प्रदेशको स्थायी राजधानी घोषणा गर्न माग गदै प्रमुख प्रतिपक्षी दल काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्की प्रस्तावक र कांग्रेसकै सांसद शिवनारायण गनगाई र सङ्घीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव समर्थक रहेका प्रस्ताव दर्ता भएको छ।

कांग्रेसकै धनकुटाकी सांसद लीला सुब्बा प्रस्तावक र काँग्रेस ताप्लेजुङका सांसद प्रतापप्रकाश हाङगाम र सङ्घीय समाजवादी फोरम नेपालका सांसद रामचन्द्र लिम्बुको समर्थनमा धनकुटा नै राजधानी हुनु पर्ने माग सहितको प्रस्ताव दर्ता भएको छ ।

प्रतिक्रिया