खोटाङ २९ माघ । घरमा कोही नभएको मौका छोपी आफूलाई बलत्कार गरेको भन्दै प्रहरीमा परेको उजुरीको विषयमा झुटो विवरण फेला परेको छ । एक महिलाले आफूलाई पुस ३ गते दिक्तेलका नरनाथ आचार्य लगायतले बलत्कार गरेको भन्दै प्रहरीमा हाडनाता करणी महल अन्तर्गत मुद्दा दिएकी थिइन् । नेपाल टेलिकम खोटाङमा कार्यरत आचार्य भने उक्त समयमा जिल्लामै नभएको प्रमाण फेला परेको हो । 
महिलाले आरोपित विरुद्ध उक्त समयमा बलात्कार गरेको भन्दै प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले माघ २३ गते नेपाल टेलिकमलाई पत्र पठाउँदै आचार्यको विवरण माग गरेको थियो । सोही पत्रको आधारमा टेलिकमले प्रहरीलाई लेखेको पत्रमा टेलिकममा करार सेवामा कार्यरत प्राविधिक पुस ३ गतेदेखि ७ गतेसम्म पाँच दिन सिडिएमए फोन बाक्सिला र जिएसएम विटिएस फेदीको मर्मतका लागि गएको पाइएको छ ।
त्यस्तै बाक्सिला गाउँ विकास मितिको कार्यालयले पनि उक्त समय टेलिकम प्राविधिक आचार्य पुस ३ गतेदेखि लगातार पाँच दिनसम्म बाक्सिलामै रहेर काम गरेको सिफारिस प्रहरीलाई उपलब्ध गराएको छ । श्रीमान् विदेश रहेका समयमा परपुरुषसँगको शारीरिक सम्बन्धबाट गर्भ बसेको खुलेपछि ती युवतीको परिवार भने भताभुङ्ग भएको छ । 
श्रीमान आएपछि अस्वस्थ भएर स्वास्थ्य संस्था पु¥याइएकी महिला परपुरुषसँगको अवैध सम्बन्धका कारण गर्भवती भएको खुलेपछि परिवार छाँगाबाट खसेजस्तो भएको थियो । दुई जना आचार्य, एकजना खत्री, एक रायमाझी र एक जना परियार थरका पुरुषसँग शारीरिक सम्बन्ध राखेको महिलाले बताएकी थिइन् । 
आरोप लागेका आचार्यद्वय, खत्री, रायमाझी र परियारसँग गाउँलेले सोधपुछ गरेका थिए । पाँच जना दोषी देखाएकी महिलाले अन्तमा तीन जनालाई छोडेर दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा हाडनाता करणीमा जाहेरी दिएपछि अदालत मार्फत मुद्दा चलिरहेको छ । दुई व्यक्ति अहिले थुनामा छन् । 
घटनालाई ढाकछोप गर्न लेनदेनमा कुरा नमिल्दा मुख्य दोषीले उन्मुक्ति पाएको स्रोतको दाबी छ । “सबै आरोपीबाट डेढ/डेढ लाख रकम उठाउने र घटनालाई ढाकछोप गर्ने भन्ने योजना थियो ।” एक स्थानीयले भने, “आफू निर्दोष रहेको भन्दै एक जनाले सो कुरामा असहमती जनाएपछि दुई जनाविरुद्ध मात्रै जाहेरी दिन लगाइयो ।”
वैदेशिक रोजगारीमा गएका श्रीमान् पुस ५ गते घर आएका थिए । परदेशबाट आएको केही दिनमै श्रीमती पाँच महिनाको गर्भवती भएको थाहा भएपछि श्रीमानले छानवीन गर्न र दोषी पहिचानका लागि आफन्त र प्रहरीलाई गुहारेका थिए । 
गर्भको विषयलाई लिएर गाउँमा भएको छलफलमा महिलाले दिक्तेल बजारका खत्री थरका एक पुरुषलाई दोषी देखाएकी थिइन् । गाउँलेले राखेको छलफलमा खत्रीले यौन सम्पर्क राखेको स्वीकार गरेका थिए । पछि उनी परिवार नियोजन (बन्ध्याकरण) गरिसकेकाले गर्भ आफ्नो नभएको भन्दै पन्छिएका थिए । 
दोषी भनिएका पुरुष टाठाबाठाको उपायअनुसार छलफलमा बन्ध्याकरण गरेको बताएर उम्किएका थिए । त्यसपछि महिलाले अन्य चार जनालाई दोषी देखाएकी थिइन् । छलफलमै खत्री बाहेक दुई जना आचार्य, एक जना रायमाझी र एक जना परियार थरका पुरुषसँग शारीरिक सम्बन्ध राखेको महिलाले बताएकी थिइन् । 
गाउँलेले आचार्यद्वय, रायमाझी र परियारसँग पनि सोधपुछ गरेका थिए । पाँच जना दोषी देखाएकी महिलाले अन्तमा तीन जनालाई छुट दिएर दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा हाडनाता करणीमा जाहेरी दिएकी थिइन् ।
महिलाको जाहेरीका आधारमा प्रहरीले नरनाथ आचार्य र जंगप्रसाद आचार्यलाई माघ ११ गते पक्राउ गरेको छ । नरनाथमाथि पुस ३ गते र जंगप्रसादमाथि भदौ १५ गते जबरजस्ती करणी गरेको अभियोग लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताएका छन् । 
उनीहरुलाई थुनामा राखेर प्रहरीले अभियोगको अनुसन्धान गरिरहेको छ । धेरै जना परपुरुषसँग सम्पर्क राखेको देखिएपछि महिलालाई परिवारले घरबाट निकालेको थियो । उनले अधिकारकर्मीको सहयोगमा महिला तथा बालबालिका हुँदै कानुनी सहायता केन्द्रको सहयोगमा जाहेरी लेखाएर दुई जनाविरुद्ध हाडनाता जबरजस्ती करणी महल अन्तर्गत जाहेरी दिएकी थिइन् । 
घटनामा नेकपा एमाले खोटाङका उपसचिव कुमारप्रसाद आचार्यले चलखेल गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार घटनामा आफ्ना ज्वाइँ (खत्री) संलग्न रहेको देखिएपछि त्यसलाई ढाकछोप गर्न ज्वाइँलाई भगाएर निर्दोष रहेका नरनाथलाई फसाएका हुन् ।
गर्भवती भएपछि घरबाट निकालिएकी महिलालाई गर्भपतनका लागि काठमाडौं लगिएको श्रोतले जनाएको छ । उनका श्रीमानले अर्को विवाह गरिसकेका छन् ।