कर कार्यालय आएपछि खोटाङबासी हर्षित

0
636

खोटाङ बैशाख–६, आन्तरिक राजस्व कार्यालय लाहानले खोटाङमा करदाता सेवा कार्यालय स्थापना गरेपछि स्थानीय करदाता हर्षित बनेका छन् । आन्तरिक राजस्व बिभाग अन्र्तगत सिराहाको लाहानमा राजस्व अर्थात कर बुझाउँदै आएका जिल्लाका कम्पनी सञ्चालक तथा ब्यवसायी लगायतका नागरिकले जिल्लामै सेवा पाएपछि हर्षित बनेका हुन् ।

करदाता सेवा कार्यालय सञ्चालनमा आएसँगै सामान्य कामको लागि समेत तीन दिन बढी समय र पैसा खर्च गरेर लाहान पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । जिल्लामा उक्त सेवा नहुँदा र कामको प्रक्रियाबारे नबुझ्दा पैसा खर्च गरेर अन्य मान्छेमार्फत काम सम्पन्न गर्नुपर्ने बाध्यता झेलिएको स्थानीय कम्पनी सञ्चालकहरु सुनाउँछन् ।

यही बैशाखदेखि दिक्तेलबजारमा स्थापना भई सञ्चालनमा आएको करदाता सेवा कार्यालयबाट लाहानमा हुने सेवा, संकलन र कर परीक्षणको काममध्ये सेवा र संकलनको सम्पूर्ण काम खोटाङबाट सम्पन्न गर्न सकिने कर अधिकृत गोपाल राईले बताउनुभयो । कार्यालयबाट स्थायी लेखा नम्बर, मूल्य अभिबृद्दि कर दर्ता, अन्तःशुल्क ईजाजत तथा नबिकरण, कर चुक्ता प्रमाणपत्र लगायतको सेवा प्रदान गरिने कर अधिकृत राईको भनाई छ । बक्यौता असुली, भौचर संसोधन, फाईल स्थानान्तरण लगायतको कार्य सम्पादन गर्ने कार्यालयबाट करदाता शिक्षा पनि सञ्चालन गर्ने जनाईएको छ ।


अर्थ मन्त्रालय अन्तर्गतको कार्यालयले प्रदान गर्ने सेवाका बिषयमा जानकारी लिई सेवा लिनका लागि जिल्लाबासीलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया