रामधन राई/खोटाङ
चैत्र–२८, खोटाङमा हालै सम्पन्न बाक्सिला गोल्डकप फुटबल प्रतियोगितामा खार्मीले उपाधी मात्र कब्जा गरेनन्, अनुशासित टीमको बिल्ला पनि प्राप्त गरे । उक्त रनिङ गोल्डकपको दशौं संस्करणमा रेफ्रीमाथि हातपातदेखि प्रतियोगितामा सहभागी फुटबल क्लबलाई प्रतिबन्ध लगाउने कार्य समेत भएको सन्दर्भमा खारम्बु स्पोर्टस क्लब खार्मीले अनुशासित र उत्कृष्ट खेलाडीको ट्रफी समेत हात पारेका हुन् ।

२०६१ सालदेखि सुरु भएको उक्त उपाधीका लागि सोही बर्षदेखि नै खार्मीले निरन्तर सहभागिता जनाउँदै आएको थियो । लामो मेहेनत, लगनशीलता तथा धैर्यताका कारण यो बर्ष भने उपाधी कब्जा गर्न सफल बनेको खारम्बु स्पोर्टस क्लबका अध्यक्ष भानु राईको भनाई छ । सोही उपाधीको कुनै प्रतियोगितामा शून्यको बिरुद्द ७ गोलसम्म ब्यहोरेको खार्मीका खेलाडीले कुनै श्रृंखलामा शुन्यको बिरुद्द १० गोल गर्दै उपबिजेतामा चित्त बुझाउनु परेको थियो । ‘ऋण काढेर पनि सहभागिताको लागि टीम लगियो ।’ अध्यक्ष राई सुनाउनुहुन्छ–‘खेल क्षेत्रबाट खार्मीलाई अघि बढाउन धेरै दुःख गरियो ।’ यो उपाधीले हर्षित बनेको राईको भनाई छ ।

यो बर्षको फाईनलमा आईपुगेका भगवती स्पोर्टस क्लब खोटाङबजारलाई २–१ ले हराउँदै खारम्बु स्पोर्टस क्लब खार्मीले उपाधी चुमेका हुन् । यस श्रृंखलामा उपाधी दावेदार तथा यसअघिका श्रृंखलाहरुमा उपाधी जित्दै आएका बुइपा इलाभेन स्पोर्टस क्लब बुइपा, बाक्सिला फुटबल क्लब बाक्सिला जस्ता बलिया टिमलाई पाखा लगाउँदै खार्मीका खेलाडी अघि बढेका थिए ।

केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा बुधबार सम्पन्न फाईनल खेलमा खोटाङ भगवती स्पोट्स क्लव खोटाङबजारले उपविजेता तथा आयोजक बाक्सिला फुटबल क्लव र केपीलासगढी गाउँपालिका सेमीफाइनलिष्ट भएका छन् । ११ टिमको प्रतिष्पर्धा रहेको प्रतियोगितामा खारम्बु स्पोट्र्स क्लव अनुशासित टिम घोषित भएका हुन् ।

मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि विगत १४ वर्षअघि सुरु गरिएको बाक्सिला गोल्डकपका विजेतालाई नगद १ लाख ५५ हजार ५ सय १०, उपविजेतालाई नगद ७५ हजार १० तथा सेमीफाईनलिष्टलाई नगद १५/१५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।

प्रतियोगीतामा प्लेयर अफ द टुर्नामेन्टको उपाधि खारम्बु स्पोट्स क्लवका शुसान्त तामाङ, उत्कृष्ट गोलकिपरको उपाधि खोटाङ भगवती स्पोटर््स क्लव खोटाङबजारका रेम्बो चौधरी, उत्कृष्ट डिफेन्डरको उपाधि खारम्बु स्पोट्र्स क्लवका करन मगर, उत्कृष्ट मिडफिल्डरको उपाधि खोटाङ भगवती स्पोट्स क्लवका शरद राई, उत्कृष्ट स्ट्राइकर र हाइस्कोररको उपाधि खोटाङ भगवती स्पोट्स क्लवका अर्जुनकुमार राना घोषित भएका छन् । उनीहरुलाई जनही ५÷५ हजार प्रदान गरिएको आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताउनुभयो ।
प्रतियोगिताका विजेता टिमलाई केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राई, नेता भक्तजङ राई, बाक्सिला फुटबल क्लवका पूर्वअध्यक्ष समिर राई, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माईतीराज राई लगायतले पुरस्कार प्रदान गरेका छन् ।

यसैबीच, बाक्सिला फुटबल क्लवले दुई खेलाडीलाई पुरस्कृत गरेको छ । किकथाई बक्सिङका राष्ट्रिय खेलाडी बरुण घले र एथ्लेटिक्स खेलाडी दिर्पा बस्नेतलाई पुरस्कृत गरिएको हो । खेल क्षेत्रको माध्यमबाट आफ्नो गाउँ–ठाउँको नाम फैलाइरहेका खेलाडीलाई थप प्रोत्साहनका लागि पुरस्कृत गरिएको क्लवले जनाएको छ ।

खेलाडी घले र बस्नेतलाई जनही ५ हजार ५ रुपैयाँका दरले कदरपत्र सहित पुरस्कृत गरिएको बाक्सिला फुटबल क्लवका अध्यक्ष राईले बताउनुभयो । पुरस्कृत दुबै खेलाडी केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका हुन् ।

यस्तै, बाक्सिला फुटबल क्लवले खोटाङ फुटबल संघका अध्यक्ष ध्रुबविक्रम राईलाई पनि सम्मान गरेको छ । फुटबलको व्यवसायिक बिकासमा पु¥याएको योगदानको कदर स्वरुप राईलाई सम्मान गरिएको क्लवले जनाएको छ ।

सोल्मामा फुटबल ग्राउण्ड निर्माणदेखि खोटाङलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता दिलाउनमा भूमीका निर्वाह गरेका राईलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।