खोटाङकै प्रतिष्ठित बाक्सिला गोल्डकप १० औंं संस्करणको खेल तालिका सार्वजनिक

0
512

खोटाङ चैत्र–१६, खोटाङकै प्रतिष्ठित बाक्सिला रनिङ गोल्डकप फुटबल प्रतियोगिताको १० औंं संस्करणका लागि खेल तालिका सार्वजनिक गरिएको छ । आगामी २३ गतेदेखि शुरु हुन लागेको प्रतियोगिताको लागि सार्वजानिक गरिएको तालिका अनुरुप बुइपा ईलाभेन स्पोर्टस् क्लब र सोल्मा स्पोर्ट क्लबबीच उद्घाटन खेल हुने भएको छ ।

बाक्सिला फुटबल क्लबको आयोजनामा केपिलासगढी गाउँपालिकास्थित पृथ्वी उच्च मावि बाक्सिलामा हुने प्रतियोगिताको दोश्रो दिनको पहिलो खेल टेम्मा स्पोर्टस क्लब टेम्मा र बाम्राङ युवा स्पोर्टस क्लब बाम्राङबीच हुने जनाईएको छ । पर्यटन प्रर्वद्धन गर्दै स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन तथा मोफसलमा फुटबल खेलको बिकास गर्ने उद्देश्यले आयोजना गरिने प्रतियोगितामा हलेसी तुवाचुङ फुटबल क्लब र खोटाङ भगवती स्पोर्टस क्लबले दोश्रो दिनको दोश्रो प्रतिस्पर्धा गर्नेछ ।

११ टिम सहभागी प्र्रतियोगितामा खारम्बु स्पोर्टस क्लब खार्मी, बाक्सिला फुटबल क्लब बाक्सिला, खोटाङ फुटबल एकेडेमी दिक्तेल, जन्तेढुंगा गाउँपालिका र केपिलासगढी गाउँपालिकालाई बाई परेको छ । बाई पाउन सफल टिम स्वतः प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय १० रुपैयाँ नगदका साथमा गोल्डकप, उपविजेताले ७५ हजार १० र सेमिफाईनालिष्ट दुई टिमले जनही १५/१५ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, उत्कृष्ट स्ट्राईकर, मिड फिल्डर, डिफेण्डर, गोल रक्षक, हाइ स्कोरर र अनुशासित टिमलाई जनही ५/५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको अवसरमा खोटाङ फुटबल संघका अध्यक्ष धु्रवविक्रम राई, किक थाइ वक्सिङ खेलाडी बरुण घले, एथलेटिक्स खेलाडी दिर्पा वस्नेतलाई सम्मान तथा खेलक्षेत्रमा कलम चलाउने जिल्लाका एकजना पत्रकारलाई ५ हजार ५ सय १० रुपैयाको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष शिवकुमार राईले बताउनुभयो ।

जिल्लामै पहिलो पटक इलाभेन साईजको प्रतियोगिता सञ्चालन हुन लागेको खेलमा कम्तिमा १२ जना खेलाडी आफ्नै जिल्लाको हुनुपर्ने क्लवका पूर्व अध्यक्ष समिर राईले बताउनुभयो । यसअघिको गोल्डकपमा जिल्लाका क्लवको नाममा बाहिरबाट ल्याइएको खेलाडीलाई स्थान दिँदा जिल्लाका खेलाडीले अवसर नपाएको कारण यस्तो ब्यवस्था गरिएको पूर्ब अध्यक्ष समिर राइको भनाई छ ।

२०७३ साल वैशाखमा सञ्चालन भएको नवौँ संस्करणको गोल्डकपको उपाधि खोटाङको बुइपा ११ बुइपाले उचालेको थियो । १७ टोलीले सहभागिता जनाएको उक्त गोल्डकपको फाइनल खेलमा शान्तिनगर फुटबल क्लव इटहरीलाई ट्राइबेकरमा हराउँदै बुइपाले उपाधि उचालेको हो । पहिलो गोल्डकप लगातार तीन पटक बिजेता बन्दै नगरोन्मुख गाबिस दिक्तेलले पच्चा गरेको थियो ।

तत्कालिन समय फुटबल खेलबाट जिल्लामा ख्याति कमाएको बाक्सिलामा २०६१ सालबाट उक्त उपाधीको लागि प्रतियोगिता शुरु गरिएको थियो । उक्त समय बुढासुब्बा गोल्डकप पछिको ठूलो उपाधीको रुपमा बाक्सिला गोल्डकपलाई लिईन्थ्यो ।

प्रतिक्रिया