खोटाङ फागुन–२४, राज्यले एकै प्रकृतिको श्रमिकलाई समान ज्याला दिनुपर्ने प्रावधान वनाए पनि खोटाङमा महिला र पुरुष श्रमिकको ज्यालामा विभेद पाईन्छ । श्रम ऐन २०७४ को परिच्छेद ७ दफा २८ मा उल्लेख गरिएको व्यवस्था अनुरुप समान कामको लागि लिङ्गको आधारमा ज्यालामा भेदभाव गर्न नपाईने भए पनि जिल्लाका महिला श्रमिकको लागि कम ज्याला दिने गरिएको छ ।
अन्र्तराष्ट्रिय महासन्धीमा समेत समान कामको समान ज्याला उल्लेख भए पनि विशेष गरी जिल्लाका कृषि श्रमिक र निर्माण श्रमिकको हकमा भने महिला भएकै कारण कम ज्याला दिने गरिएको पाईएको हो । समान समय तथा समान काम गरे पनि महिला भएकोले आफुहरुले पुरुष कामदारको तुलनमा कम ज्याला पाउने गरेको महिला कामदारहरु गुनासो गर्छन् । काममा निस्कनका लागि समेत पुरुषलाई भन्दा महिलाको लागि असहज हुने गरेकोमा ज्यालामा समेत विभेद हुँदा अन्यायमा पर्ने गरेको महिला कामदारहरु सुनाउँछन् ।
निर्माण कार्यको सन्दर्भमा दैनिक काम गर्ने महिलाहरुले पुरुषको तुलनामा २ देखि ३ सय रुपैंयाँ कम ज्याला पाउने गरेको पाईएको पूर्व सभाषद तथा महिला अधिकर्मी दुर्गा जयन्ती राईले सुनाउनुभयो । ठूला कारखाना तथा मध्यम स्तरका होटलहरुमा समेत लिङ्गको आधारमा श्रमको ज्यालामा विभेद हुने गरेकोमा जिल्लाका कृषि मजदुरहरुमा पनि विभेद नै पाईने राईको भनाई छ ।
कृषि मजदुरको हकमा जिल्लाका वजार क्षेत्रदेखि ग्रामिण भेगसम्म नै पुरुषको तुलनामा महिलालाई कम ज्याला दिने गरेको पाईएको छ । गाउँ–ठाउँ विशेष अनुसार ज्याला निर्धारण गरिने जिल्लाका निर्माण तथा कृषि श्रममा समान समय र काम गरे पनि रोजगारीको लागि महिलाहरु पुरुषको भन्दा कम ज्याला लिएर काम गर्न वाध्य छन् । कृषि कर्ममा मजदुरी गर्दा महिलाहरुले पुरुषले भन्दा २५ देखि ५० प्रतिशतसम्म नै कम ज्याला पाउने गरेको स्थानीय ज्यालादारीमा काम गर्ने कामदारहरु वताउँछन् ।
निर्माण कार्यमा पुरुषको तुलनामा महिला कामदारले स्वभाविक रुपमा कम ज्याला पाउने गरेको निर्माण व्यवसायीहरु वताउँछन् । दैनिक विहान ८ वजेदेखि वेलुकी ५ वजेसम्म काम गर्दा पुरुष ज्यामीले ८ सय रुपैंयाँ ज्याला पाउने गरेकोमा महिलाले त्यसभन्दा ५० देखि डेढ सय रुपैंयाँसम्म कम ज्याला पाउने निर्माण व्यवसायी सुनाउँछन् । सीपयूक्त मिस्त्रीले भने ज्यामीको भन्दा दुई देखि तीन सय रुपैंयाँ वढी ज्याला पाउने गरेका छन् ।
‘हामी त काम हेर्ने हो नि त ।’ निर्माण व्यवसायी भन्छन्–‘महिलालाई अलि अलि त कम भईहाल्छ नी ।’ खानाको लागि कामदारलाई डेढ घण्टा जति समय दिईने पनि व्यवसायीको भनाई छ । कामदारले महिला कामदारहरुले काम गर्ने गाउँको तुलनामा वजार तथा शहरीकरण वढेको क्षेत्रमा वढी ज्याला पाउने गरेको कामदारहरु सुनाउँछन् । पछिल्लो पटक जारी श्रम ऐनमा एक जना कामदारले प्रति दिन ८ घण्टा काम गर्नुपर्नेमा प्रति पाँच घण्टामा आधा घण्टा विश्राम दिनुपर्ने व्यवस्था छ ।
जिल्लामा ठूला उद्योग तथा कलकारखाना नभए पनि कृषि तथा निर्माण कार्यका लागि महिला कामदारहरु पनि उल्लेख्य नै रहेको पाईन्छन् । निर्माण व्यवसायी अनुरुप महिला पुरुषवचि ज्यालामा घटीवढी वा समान दिने गरेको स्थानीयको भनाई छ ।