देशविदेशका चाम्लिङ (राखमिहँछा) खोटाङको नुन्थलामा : वंशावली तयार भएकोमा खुशियाली (फोटो कथा)

0
1185

खोटाङ फागुन–५, खोटाङस्थित नुन्थलामा पर्ने मध्येपहाडी लोकमार्गदेखि पूर्व पाटोको ओह्रालो लागेपछि चाम्लिङ राईको राखमिहँछा पाछाको ऐतिहासिक वस्ती खाम्ला भेटिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ मा पर्ने उक्त खाम्लाको पुछार टोलमा ठूलै चहलपहल थियो । वाटोको दुवैतर्फ अर्थात उभोको र उधोको पाहुनाका लागि कार्यक्रम स्थल प्रवेश गर्ने स्वागतद्वार ।

स्वागतद्वारवाट प्रवेश गरेपछि वारीको कुनामा भान्सा डेरा । भान्साडेरामा धुवाँ उडिरहेको थियो । भान्सेहरु आफ्नो–आफ्नो जिम्मेवारीमा थिए । माथिल्लो कान्लाको कुनामा एक जोर सरुवा छाँदिएको थियो । घ्याम्पामा कोदोको जाँड लगाई मुनि प्वाँल पारेर झार्ने प्रक्रियालाई नै सरुवा भनिन्छ । सरुवा र साईंलाखुई अर्थात चाम्लिङ राईको शुभ कार्यमा सरुवासँग दिईने राँगाको मासु र रगत मिसाएर पकाईएको विशेष परिकार वाँड्ने भान्सेहरु पनि सँगै थिए । भान्सेहरु भर्खर आईपुगेका पाहुनालाई विशेष सेलरोटी, तरकारी, सरुवा तथा साईलाखुईंले स्वागत गर्न तैनाथ थिए । झट्ट देख्दा विहे जस्तो लाग्थ्यो ।


सोही स्थानको दाँयाँतर्फ हेर्दा फरक माहोल देखिन्थ्यो । भव्य कार्यक्रमको लागि तय गरिएको जस्तो देखिने मञ्च । गाउँको वारीको कान्लामा तयार गरिएको मञ्चलाई सकेसम्म आर्कषक वनाउने प्रयत्न गरिएको थियो । अपायक स्थान, गाउँको माझामा मञ्च, अलि फरक र विशेष लाग्थ्यो ।
निक्कै मज्जाले सिँगारिएको मञ्चकै अगाडी ठूलो त्रिपाल त्यसमूनि प्लास्टिकको कुर्सी र कुर्सीमाथि सवै उमेर समुहका मानिसहरु । जसमध्ये अधिकांस मानिसहरु किरात राईहरुको मौलिकता झल्कने भेषभूषामा ठाँटिएका थिए । फाट्टफुट्ट वाहेक राईकै अनुहारका उपस्थिती थियो । ढोल–भm्याम्टा देख्दा र भेषभूषा हेर्दा लाग्थ्यो साकेला नाच्ने कार्यक्रम हो की ?

फेरि अर्को फरक दृश्य पनि देखिन्थ्यो । मञ्चको दाँयावाँया अघिल्लतिर, तल्लो कान्लाको डिलको रुखमाथि, स्वागतद्वारको माथिल्लो भागमा एउटा फरक खालको देखिने मानिसको फोटो । टाउकोमा पगरी गुथेको, पछाडी धनुकाँडको तीर सहितको ठोकरी वोकेको, दाँयाँ हातमा वावु(चिण्डो) र वाँयाँ हातमा धनुकाँड समाएको फोटो । सेतोफुस्रो जामा जस्तो लाग्ने पहिरनमाथि पटुकी र पटुकीभित्र अगाडी कम्मरमा खुकुरी भिरेको, पुलिक तथा प्वाँलोको माला लगाएर रित्तो खुट्टामा उभिएको एक अधवैंसे पुरुषको फोटो जताततै टाँगिएको देख्दा झनै अल्मलमा परिन्थ्यो । फोटोको मूनि ‘हँतोलुङ’ लेखिएको थियो ।


एकै स्थलमा यी यस्ता फरक–फरक दृश्य देख्दा विहे हो या अन्य कुनै विशेष कार्यक्रम हो भन्ने ठम्याउन गाह्रो परे पनि मञ्चको पछाडीपट्टिको पर्दासँगै राखिएको ठूलो व्यानर हेर्दा कुरोको चुरो वुझ्न सकिन्थ्यो । व्यानरमा लेखिएको थियो ‘किरात राई चाम्लिङ राखमिहँछा वंशावली लोकार्पण समारोह’। किरात राई चाम्लिङ राखमिहँछा वंशावली प्रकाशन समिति त्यस कार्यक्रमको आयोजक रहेका थिए ।


त्यसैवीच थिईन सुदुरपश्चिम धनगढीकी २४–२५ वर्षकी देखिने सूजिता चाम्लिङ । निलो साडीमाथि काँधमाथि सेतो–कालो छिर्केमिर्के वर्की ओढेकी उनको हाउभाउ हेर्दा लाग्थ्यो उनी खाम्लामै जन्मी–हुर्की, खाम्लामै वसिरहेकी एक युवती हुन् । या भनौं उनी त्यही माहोलमा झ्यामिएकी थिईन् । कैलाली जिल्लाको धनगढीमै जन्मीहुर्की सोही दिन मात्र खोटाङको नुन्थला, नुन्थलाको पनि खाम्ला, खाम्लाको पनि तल्लो भेग । सडकदेखि निक्कै तल झरेकी उनीले नौलो परिवेश महशुष गरेको पटक्कै देखिदैनथ्यो ।
स्थानीय पुर्खाहरुसँग खुशी मुद्रामा भन्दैथिईन–‘मैले यहीँ आएर अघि भर्खर झ्याम्टा वजाउन र साकेला नाच्न जानेको नि !’ कुार सुन्दा प्रष्टै थियो, सुदुरपश्चिममा साकेला नाच्ने चलनै छैन । साईनो केलाउँन र ढोग–भेट गर्नमा पनि अग्रसर देखिन्थन् उनी । धनगढीवाट खोटाङको खाम्लामा पहिलो पटक आएर पनि उनीमा कुनै संकोच देखिदैनथ्यो । उनी ढुक्क र निर्धक्क थिईन की उनी आफ्नै पुर्खाको थातथलो पहिल्याउँदै आएकी थिईन् । र उभिएकी थिईन् पुख्र्यौउली पवित्र भूमिमा । जहाँ आफनो वंशको उत्पत्ति भएको थियो ।


सुजता त्यस कार्यक्रमको एक पात्र मात्र हुन् । आफ्नो वंशावली तयार भएको खुशियाली मनाउन र करिव ४ सय वर्ष अघि नै आफ्ना पुर्खाले छाडेको भूमि भेट्न भारतको नक्सलवारी, दारावु, सिक्कम लगायतका स्थानवाट समेत हँतलुङको सन्तान चाम्लिङ राखमिहँछाहरु खाम्ला आएका हुन् । मोरङ, सुनसरी, संखुवासभा, झापा, उदयपुर लगायतका स्थानवाट राखमिहँछाहरु नुन्थलाको खाम्लामा आयोजित वंशावली लोकार्पण कार्यक्रममा आएका थिए । युवायुवतीदेखि वृद्दवृद्दा समेत जिल्लावाहिरवाट कार्यक्रममा सहभागी वने । वेलायती सेना लगायत वेलायतलाई कर्मथलो वनाउने, हङकङलाई कर्मथलो वनाएका स्थानीयहरु समेत वंशावली तयार भएको खुशियाली मनाउन तथा लोकार्पण गर्न गाउँ आएका थिए । कार्यक्रममा सहभागी हुन आएका हतलुङको वंशहरु हर्षित मुद्रामा विजयाभाष गरेको देखिन्थ्यो ।


स्थानीय रोजवहादुर राईको सक्रियतामा २०२० सालदेखि नै चासो दिईन थालेको वंशावली खोजी कार्यलाई २०४० सालदेखि लिखित दस्तावेज संकलन सुरु गरिएको प्रकाशन समितिका टिका चाम्लिङ वताउनुहुन्छ । वेलायतलाई कर्मथलो वनाउनुभएको नुन्थला, खाम्लाकै चन्द्रवहादुर राईको नेतृत्वमा २०६९ साल भदौ ८ देखि औपचारिक रुपमा वंशावली खोजी तथा निर्माण कार्य सुरु गरिएको गीतकार तथा कवि चाम्लिङले सुनाउनुभयो । नुन्थलाको खाम्लावाट नै देश तथा देशमा छुटिगएका वंशहरुको खोजी तथा दस्तावेजीकरण गर्न निक्कै ठूलो मेहनत गर्नु परेको सो वंशकाहरु वताउँछन् । करिव ५ सय वर्षको इतिहास भेटिएको वंशावली खोज तथा प्रकाशनले करिव साँढे चार सय वर्ष अघि छुटेका वंशहरुको पूर्नमिलन भएको वडाध्यक्ष समेत रहनुभएको सोही वंशका भीम राईको भनाई छ ।
लामो समयको मेहनत तथा दुःखले प्रकाशन गरेको वंशावली दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर दिपनारायण रिजाल, उपमेयर विणदेवी राई लगायतले शनिवार लोकार्पण गर्नुभयो । भोजभतेर सहितको कार्यक्रममा वंशावली निर्माण अभियन्ताहरु, देशविदेशमा रहेका वंशका विशिष्ट व्यक्तित्वहरु, नुन्थलावासी अग्रज तथा स्थानीय, वंशका छोरीचेली लगायतको जमघट थियो ।


वंशावलीमा करिव साँढे तीन हजार (राखमिहँछा) हँतोलुङको सन्तानको नाम उल्लेख छ ।
वंशावली निर्माण गरिनु ऐतिहासिक महत्वको कार्य भएको प्रमुख अतिथि मेयर रिजालले वताउनुभयो । वंशावलीलाई भावी पुस्ताले अमुल्य निधिकाने रुपमा लिने उहाँको संकेत थियो ।
उपमेयर राईले वंशावली निर्माणले एकअर्कामा चिनजान नहुँदा वंशभित्रै हुने विवाह जस्ता दुर्घटना रोकिनका साथै तथा टुटेको भातृत्व,–भाईचाराको पूर्नमिलन हुने जनाउनुभयो ।
                    पाँज जनालाई सम्मान


वंशावली निर्माण समितिले लोकार्पणकै दिन पाँच जना व्यक्तिलाई सम्मान गरेको छ । समितिले तीन जना जनप्रतिनिधि एक समाजसेवी र एक साहित्यकारलाई सम्मान गरेको हो ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढीको प्रथम मेयर वन्न सफल वनेकोमा मेयर दिपनारायण रिजाल, प्रथम उपमेयर वनेकोमा उपमेयर विणदेवी राई र वंशवाट नुन्थलाको वडाध्यक्ष वनेकोमा भीम राईलाई सम्मान गरेको हो ।


यस्तै, साहित्य क्षेत्रमा योगदान दिएकोमा संखुवासभा घर भई हाल झापामा वसोवास गर्नुहुने वंशकै गजलकार चन्द्रा चाम्लिङ तथा लामो समयदेखि समाज सेवा गरेको भन्दै नुन्थलाकै समाजसेवी दिपक राईलाई सम्मान गरिएको छ । पाँचै जनालाई ताम्रापत्र, फेटा तथा खदाले सम्मान गरिएको हो ।


पानीझरीले प्रभावित गरेको कार्यक्रममा साकेला सिली प्रदर्शनी समेत गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमकै अवसरमा उक्त पाछाको ऐतिहासिक तथा उद्गम थलोमा वृक्षरोपण समेत गरिएको छ । प्रमुख अतिथि, विशेष अतिथि लगायतको संलग्नतामा ऐतिहासिक थलो पहिचानका लागि दुई वटा लिम्चिङवुङको विरुवा रोपिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here